सूचनाको शक्ति - The Power Of Information

        

‘घरघरमा निशुल्क स्वास्थ्य सेवा अभियान’


बाँके । नेपालकै पहिलो पटक बाँकेको डुडुवा गाँउपालिकाका नागरिकहरु स्वास्थ्य संस्थाबाट पाउने सम्पूर्ण सेवा सुबिधा निशुल्क पाउने भएका छन । सेवाग्राहीहरुबाट नामदर्ताको लागि समेत पैसा नलिई सेवा उपलब्ध गराइनेछ । घरघरमा स्वास्थ्य सेवा अभियान अन्तरगत गाउँपालिकाले सम्पूर्ण सेवाग्राहीहरुलाई निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने गाँउपालिकाका प्रमुख नरेन्द्र चौधरीले बताए ।
घरघरमा स्वास्थ्य सेवा अभियानमा खटिने कर्मचारीहरका लागि बिहीबारदेखि सञ्चालन गरिएको २ दिने अभिमुखीकरण कार्यक्रमको उदघाटन गर्दै प्रमुख चौधरीले गाँउमा सिंहदरवार आएको अनुभूति दिलाउने बताए । उनले भने, ‘हरेक घरमा निशुल्क स्वास्थ्य सेवा तथा एसएलसी उत्तीर्ण युवा मेरो पहिलो प्राथमिकता रहेको छ । प्रभावकारी रुपले सेवा उपलब्ध गराउनु मेरो जिम्मेवारी हो ।’
नागरिकको स्वास्थ्य अवस्था थाहा पाउनका लागि गाउँपालिकाले स्वास्थ्य कार्ड समेत जारी गरिएको छ । ४० हजार कार्ड छापी सकेको प्रमुख चोधरीले बताए । स्वास्थ्य सेवामा कुनै कन्जुस्याई तथा लापरवाही हुन नदिन कर्मचारीहरुलाई उत्प्रेरित गर्दै सेवा सुविधामा कुनै कमी कमजोरी भए कर्मचारीलाई सुविधा थप गर्न आफु तयार रहेको उनले बताए । स्वास्थ्य सेवाको प्रभावकारिताका लागि गाउँपालिकाले बहुउपयोगी ल्यावसमेत सञ्चालनमा ल्याएको छ ।
अहिले औपचारिक रुपमा उद्घाटन नभएपनि स्थापनाका लागि चाहिने सम्पूर्ण तयारी पुरा भइसकेको छ । ल्याव सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको समेत व्यवस्था भइसकेको गाउपालिकाका सूचना अधिकारी ऋषिराज गौतमले जानकारी दिए । डुडुवा गाउँपालिकाको वडा नम्बर २ बेतहनीस्थित स्वास्थ्य चौकीमा सञ्चालन हुने सो ल्यावमा हुने सम्पूर्ण स्वास्थ्य परिक्षण निशुल्क गरिनेछ ।
ल्याव सञ्चालनमा आइसकेपछि गाउँपालिकाका सेवाग्राही तथा बिरामीहरुको दिशापिसाब, रगत, खकार, सुगर, टाइफाइड, मलेरिया, ज्वरो लगायतका सामान्य खालका परीक्षणका लागि स्थानीयस्तरमै परीक्षण हुने बताइएको छ । गाउँपालिका कार्यालयले पशुहरुमा देखिने गरेको परजीवि रोग नियन्त्रणका लागि पनि अभियान सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले बताए ।
उनका अनुसार गाउँपालिकाका किसानले पालेका पशु चौपायाहरुमा किरा नियन्त्रणका लागि सो अभियान सञ्चालन गरिएको हो । पशुचौपायालाई विभिन्न परजीवि किराबाट जोगाई स्वस्थ राख्नका लागि उनीहरुको कार्ड बनाएर स्वास्थ्कर्मीलाई घरदैलोमा पठाएर औषधीसहितको उपचार गरिनेछ । अभिमुखीकरणमा गाउँपालिकाका स्वास्थ्यकर्मी लगायत ५० जनाको सहभागिता रहेको छ ।
भिमुखीकरणमा कर्मचारीको काम, कर्तब्य र अधिकार, प्रवद्र्धनात्मक स्वास्थ्य सेवा, लगायतका विषयमा जानकारी गराइने गाउँपालिकाले जनाएको छ । अभिमुखीकरणमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका वसन्त गैरे, केशव ज्ञवाली, डुडुवा गाउँपालिका स्वास्थ्य इकाई संयोजक धनबहादुर बुढा, उपसंयोजक विरेन्द्र घले लगायतले सहजीकरण गरिरहेका छन् । -स्वस्तिक भट्ट/प्रशिक्षार्थी पत्रकार

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ०४:५१