सूचनाको शक्ति - The Power Of Information

        

मुख्यमन्त्रीमा शाही नियुक्त, सरकारको ढोका खुल्यो


शुरबहादुर सिंह/दिपेन्द्र शर्मा । सुर्खेत । नेकपा एमाले ६ नं प्रदेशले राखेको आलोपालो प्रस्तावले नेकपा माओवादी केन्द्रलाई मुख्यमन्त्रीको दाबी पेश गर्न दुई दिनसम्म निकै सकस बनायो । बारम्बार केन्द्रीय कार्यदलको बैठकको निर्णय कार्यान्वयनका लागि केन्द्रीय नेतृत्वलाई नेकपा माओवादी केन्द्र, सुर्खेतले दबाब दिइरह्यो ।
अन्तत: कार्यदलको निर्णयलाई कार्यान्वयन गर्ने अन्तिम निष्कर्षका साथ एमालेले आफ्नो अडान फिर्ता लियो र पछि उसकै समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभयो जसबाट ६ नं प्रदेश सरकार गठनको ढोका खुलेको छ ।

को हुन् मुख्यमन्त्री शाही ?
विसं २०३३ साल माघ १५ गते आमा रणकौडा र बुबा लालबहादुर शाहीका सुपुत्रका रुपमा जन्मनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पचाल झरना गाउँपालिका (साबिकको नानीकोट–८), कोटिलागाउँ निवासी हुन् । सानैदेखि विद्रोही स्वभावका शाही विद्यालय पढ्दादेखि नै क्रान्तिप्रति झुकाव राख्थे । २०४८ सालबाट नेकपा मसाल एकता केन्द्रबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका शाही बडिमालिका मावि, स्युना, रासकोट, कालीकोटबाट एसएसली परीक्षा दिएपछि २०५२ सालमा तत्कालिन नेकपा माओवादीले थालनी गरेको सशस्त्र जनयुद्धमा सरिक भए ।
उनले २०५३ सालमा मध्य पश्चिमाञ्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेश गरेका थिए । राजनीतिक र फौजी दुवै मोर्चामा कुशल सैन्य नेतृत्व सम्हाल्दै सशस्त्र युद्धमा सामेल भएका शाही पश्चिम नेपालको बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गरे । शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्वपूर्ण भूमिका पूरा गरेका उनले शुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर र बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गर्न सफल भए । नेपाली सेनामा समायोजन गर्दाका बेलामा सम्मानजनक पद नपाएपछि उनी पार्टीको मूलधारको राजनीतिमा आएका थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा कालीकोटबाट संविधानसभा सदस्यमा निर्वा्चित उहाँले संविधान सभामा पनि महत्वपूर्ण भूमिका खेले । २०७० को निर्वाचनमा तेस्रो शक्ति बनेको माओवादी केन्द्रबाट निर्वाचित सदस्यका हैसियतले संविधान निर्माणका बेला चुनौतीको सामना गर्न शाही बेलाबेलामा अग्र भागमा देखिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव संसद्मा दर्ता गरेपछि निकै चर्चामा आएका उनलाई पछिल्लो समयमा पार्टीले ऊर्जामन्त्री बन्ने अवसर दिएको थियो । त्यसपछि गएको मंसिर १० र २१ गते सम्पन्न ऐतिहासिक संघ तथा प्रदेशसभाको चुनावमा कालीकोट (ख)बाट वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रबाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भए ।
त्यसैगरी, उनलाई नेकपा माओवादी केन्द्रले फागुन २५ गते प्रदेशसभा संसदीय दलको नेता चुनेको थियो । मुख्यमन्त्री बन्न नेकपा (एमाले) संसदीय दलको आलोपालोको प्रस्तावले सामान्य अवरोध आएपनि अन्ततः एमालेकै समर्थनमा बहुमत सदस्यको हस्ताक्षरबाट २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले ऐतिहासिक यात्रा तय गरेका छन् । हाल उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सचिवालय सदस्य हुन् । उनको परिवारमा आमा तथा वुवाको मृत्यु भैसकेको छ भने हाल एक दाजु र एक विवाहित दिदी छन् । उनका धर्मपत्नी, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ०४:४२