सूचनाको शक्ति - The Power Of Information

        

विषादी प्रयोग निरुत्साहित गर्नुपर्छ : प्रदेश प्रमुख झा


रेनुका गिरी । बुटवल । पाँच नम्बर प्रदेशका प्रदेश प्रमुख उमाकान्त झाले मुलुकमा उत्पादन र उत्पादकत्व बढाउने नीतिगत व्यवस्थाका कारण विषादीको प्रयोग उच्च भएको बताएका छन् । कृषि उत्पादनमा विषादीको प्रयोग निरुत्साहित गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । कुनै समयमा अन्न वाली निर्यात गर्ने मुलुकको सूचिमा रहेको नेपाल जनसंख्याको तिब्र बृद्धि र चापका कारण अहिले आयात गरिरहनु परेको उनले उल्लेख गरे ।
नेपाल सरकार कृषि विभाग अन्तरगतका निकायहरु र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बिहिबारदेखि बुटवलमा सुरु भएको ११ औं प्राङ्गारिक कृषि मेला–२०७४ को उद्घाटन गर्दै प्रदेश प्रमुख झाले सरकार गठन हुँदै गर्दा भएको यो कार्यक्रमले कृषिमा नीतिगत सुधारका लागि सरकारलाई दिशा निर्देश गर्ने विश्वास व्यक्त गरे ।
विदेशमा सस्तोमा श्रम विक्री गर्न बाध्य भएका मुलुकको युवा जनशक्तिलाई मुलुकभित्रै प्रयोग गर्न सकिए अपेक्षित रुपमा उपलब्धी हासिल गर्न सकिने उनले विश्वास व्यक्त गरे । कृषि विभागका निमित्त महानिर्देशक सुर्यप्रसाद पौडेलले कृषिको व्यवसायिक विकाससँगै प्राङ्गारिक कृषि प्रणालीको प्रवद्र्धनका लागि प्रत्येक वर्ष कृषि मेला गर्दै आएको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालले कृषिका माध्यमबाट औद्योगिक बिकास गर्न सके रोजगारीको अवसरसंगै मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताउँदै कृषि क्षेत्रको समष्टित विकास कसरी गर्न सकिन्छ त्यसतर्फ सोंच्नुपर्ने उल्लेख गरे । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले कृषि व्यवसायको व्यबसायिक बिकास तथा आधुनीकिकरणका लागि मेला आयोजना गरिएको बताउँदै कृषि क्षेत्रको प्रविधिसहित व्यवसायिक विकास गर्न ठूलो चुनौती रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेश सांसाद भोजप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ, संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, संघका महासचिव दिनेशप्रसाद श्रेष्ठ लगायतले भनाई राखेका थिए । ‘प्राङ्गारिक खेतीको प्रवद्र्धन, स्वस्थ जीवनको अवलम्बन’ भन्ने मुल नाराका साथ बुटवलमा एघारौ प्रांगारिक कृषि मेलाको आयोजना गरिएको हो ।
यहि फागुन ७ गतेसम्म सञ्चालन हुने मेलामा देशभरका ६३ जिल्लाका १२५ वटा स्टलहरु रहेका छन् । मेलाका तरकारी तथा फलफुलमा हुने बिषादीको परिक्षण, कस्तो जमिनमा कस्तो खेति उपयुक्त हुन्छ भनि माटो परिक्षण, बाली उपचार शिविर, माछा तथा च्याउका परिकारको छुट्टै महोत्सव, प्राङ्गारिक कृषिका सम्वन्धमा बिभिन्न गोष्ठि तथा प्रतियोगिताहरु हुने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा मेला आयोजक समितिका सदस्य भोजराज सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार १०:०७