सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा अझै १३ प्रतिशत हात्तिपाइलेका बिरामी


बाँके । हात्तिपाइले रोग निवारणका लागि आठौं पटक आमऔषधि सेवन कार्यक्रम सञ्चालनको तयारी गरिरहँदा बाँकेमा अझै १३ प्रतिशत हात्तिपाइले रोगका विरामी रहेका छन् । यो अवस्था हेर्दा बाँके जिल्ला अझै पनि हात्तिपाइले रोगको उच्च जोखिममा रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले २०७४ कात्तिकमा गरेको प्रि–टास सर्भे अनुसार जिल्लामा १३ प्रतिशत हात्तिपाइलेका विरामी रहेका छन् । जुन सर्भेलाई आधार मान्ने हो भने बाँके जिल्ला अझै उच्च जोखिममा देखिएको छ ।
हात्तिपाइले रोग निवारणका लागि बर्षेनी एक करोडको हाराहारीमा खर्च हुने गर्छ । तर बाँके जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ । २०६७ देखि सुरु गरिएको अभियानको पहिलो वर्ष ९१ प्रतिसतले हात्तिपाइलेको औषधि सेवन गरेकोमा पछिल्ला बर्षहरुमा यो संख्या घटेको जनस्वास्थ्यको तथ्यांक छ ।
तथ्यांक अनुसार सबैभन्दा कम २०६८ मा ५३ प्रतिशतले मात्रै औषधि सेवन गरेका छन् भने २०६९ मा ६६ प्रतिशत, २०७० मा ७३ प्रतिशत, २०७१ मा ७५ प्रतिशत, २०७२ मा ६७ प्रतिशत र २०७३ मा ७३ प्रतिशतले औषधि सेवन गरेका छन् । जनस्वास्थ्य कार्यालयले यस वर्ष सतप्रतिशतलाई औषधि खुवाउने तयारी गरेको छ ।
जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काका अनुसार यस वर्ष ५ लाख ३५ हजार ७९७ जनालाई हात्तिपाइलेको औषधि खुवाउने तयारी रहेको जानकारी दिए । अभियान अन्तरगत २ देखि ५ वर्ष उमेर समुहका ३४ हजार ६८८, ६ देखि १४ वर्ष उमेर समुहका १ लाख १२ हजार ८९० जना र १५ बर्षमाथिका ३ लाख ८८६ हजार २१९ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।
कार्यालयले तयारीका विषयमा जानकारी दिन गरेको पत्रकार अन्तरक्रियामा जनस्वास्थ्य प्रशासक खड्काले अभियानको तयारीलाई व्यापक बनाउन सबै पक्षसँग छलफल गरिरहेको बताए । हात्तीपाइलेका जिवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्ताङ् सुन्निने हात्तीको जस्ता पाइला हुन्छन् । हात्तीपाइलेको उच्च जोखिममा रहेको बाँकेमा लगातार आठौेंपटक यसवर्ष फागुन १३ र १४ गते हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइदैछ ।
कार्यालयका अनुसार अभियान सञ्चालनका लागि जिल्लाभर ३४६ जना स्वास्थ्यकर्मी, २ हजार ३०० जना स्वास्थ्य स्वयंसेवक खटाउने भएको छ भने ५ वटा आरआरटी टोली परिचालन गरिनेछ । अभियानका क्रममा विरामी फेला परेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अञ्चल अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएको जनस्वास्थ्य प्रशासक खड्काले जानकारी दिए ।
उनका अनुसार, जिल्लाभर अभियानका लागि नगरपालिकामा ९९१ बुथ तोकिएको छ । लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै जनस्वास्थ्य प्रशासक खड्काले भने, ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने बिषयमा ब्यापक प्रचार गर्नु आवश्यक छ ।’ मानिसहरुलाई नडराइ औषधि सेवन गर्न जनस्वास्थ्यले आग्रह गरेको छ ।
पत्रकार अन्तरक्रियामा बोल्दै क्षेत्रीय स्वास्थ्य निर्देशनालयकी क्षेत्रीय निर्देशक लिला भण्डारीले स्वास्थ्य कमजोर हुँदा गरिबी बढ्ने बताउँदै स्वस्थ रहनका लागि निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरिन् । उनले भनिन्, ‘हरेक दिन कोही न कोही मानिसको मृत्यु भइरहेको हुन्छ, यस्ता घटनालाई अभियानसँग जोडेर भ्रामक प्रचार गर्नुहुँदैन ।’
उनले अभियान सञ्चालनका क्रममा सभ्य र शिक्षित व्यक्तिले औषधि खान नमानेको स्मरण गर्दै अभियानलाई कडाइका साथ सञ्चालन गरिने बताइन् । अभियानलाई सफल बनाउन जनस्वास्थ्य कार्यालयले अहिले जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार, सूचना, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई तालिमहरु लगायतका कार्यक्रमहरु गरिरहेको छ ।
जनस्वास्थ्य कार्यालयले दुइबर्ष नपुगेका बालबालिका, गर्भवती, सातदिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्ष भन्दा बढि उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका ५ बर्ष मूनिका बालबालिकाहरुलाई औषधि सेवन नगर्न अनुरोध गरेको छ । सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्न विश्वव्यापि अभियान थालिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार ०७:२६