सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ को मुख्यमन्त्रीमा पोखरेल, आज सपथ


बुटवल । प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतबार नै दाबी पेश गरेको थियो । तर, सभामुख चयन भइसकेपछि मात्र पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मुख्यमन्त्री पोखरेलले आज सपथ लिनेछन् ।
यसैगरी प्रदेशसभा ५ को सभामुखमाा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती निर्विरोध चयन भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेको थियो भने अर्का सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए ।
सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएका हुन् । सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
उपसभामुखको निर्वाचन भने फागुन ६ गते आइतबारका लागि तोकिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार यस प्रदेशमा सभामुख माओवादी केन्द्रले पाएको छ । उपसभामुख भने नेकपा एमालेले पाउनेछ । प्रदेश ५ मा ८७ सांसद मध्ये एमाले र माओवादी केन्द्रका ६१ सांसद् छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार ०५:०२