सविता जिसी । सुर्खेत । विद्यार्थीसँग पैसा असुलेर पढाउ“दै आएको मिरर ट्युसन सेन्टरले शिक्षा कार्यालयबाट अनुमति लिएको छैन । तर नगरको निकै पुरानो उक्त सेन्टरले अवैधरुपमा ट्युसन कक्षा सञ्चालन गर्दै आएको छ । नगरकै नेशनल ट्युसन सेन्टर, मोनालिशा प्रशिक्षण केन्द्र र सिद्धपाइला एजुकेशन ट्युसन सेन्टर पनि शिक्षा कार्यालयमा दर्ता छैनन् ।
सरकारी अनुमति नलिइ अवैधरुपमा पढाउँदै आएका यस्ता नीजि ट्युसन सेन्टरले कर छल्दै आएका छन् । नियमनकारी निकाय जिल्ला शिक्षा कार्यालयले अवैध ट्युसन कक्षा सञ्चालन गर्नेलाई करको दायरमा ल्याउने र कारबाही गर्ने जिम्मेवारी पुरा नगर्दा शिक्षावापतको उठ्ने राजश्व चुहावट भएको छ ।
ट्युसन सेन्टरले वार्षिकरुपमा १३ प्रतिशत रकम करवापत राज्यलाई तिर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर विद्यार्थीलाई पढाए कसले कति आम्दानी गर्छन् ? त्यसको समेत लेखाजोखा छैन । शिक्षा कार्यालयका कर्मचारीको मिलेमतोमा अवैधरुपमा सञ्चालनमा छन् । दर्ता भएका र नभएका ट्युसन सेन्टरको पहिचान गर्न नसक्दा बिद्यार्थी पनि नहुँदा अन्योलमा छन् ।
लर्डबुद्ध एजुकेशन ट्युसन इन्स्टिच्युटमा कक्षा ११ को अंग्रेजी पढ्दै गरेकी एक छात्राले कुन दर्ता भएको हो कुन हैन थाहा नभएको बताइन् । सोही सेन्टरमा पढ्दै आएकी वीरेन्द्रनगर–८ की लक्ष्मी आचार्य भन्छिन्, ‘टिउसन पढनुपर्ने बाध्यता छ ।’ विद्यार्थीको बाध्यात्मक अवस्थाको अवैध ट्युसन सेन्टर सञ्चालकले राम्रो फाइदा उठाइरहेका छन् ।
‘शिक्षकको क्षमता अनुसार ट्युसन सेन्टरको छनोट गर्छौ,’ आचार्यले भनिन्, ‘वैधानिकता र अवैधानिकता के हुन बुझ्नै सकिँदैन ।’ उनले ट्युसन सेन्टरमध्ये सबैमा स्तरिय पढाई नहुने गरेको बताइन् । दर्ता भएका सेन्टरहरुले नियमानुसार कर बुझाउदै आएका पनि छन् । एपेक्स कम्प्युटर सुर्खेतका संचालक खगेन्द्र पुलामीले वार्षिक कारोबारको १३ प्रतिशत कर बुझाउँदै आएको बताउँछन् ।
केही टिउसन सेन्टरहरुले कर छलेर व्यापार गरेको उनको भनाई छ । दर्ता नभएका टिउसन सेन्टरहरुले नियमनकारी निकायमा अधिकारी मौन रहदा विद्यार्थीसँग मनोमानी ढंगले शुल्क लिँदै आएका छन् । शुल्कको कुनै निश्चित सिमा छैन ।
के भन्छ शिक्षा कार्यालय ?
खुलेआम दर्ताबिना ट्युसन सेन्टर सञ्चालन भइहरेको थाहा पाउँदै आएको जिल्ला शिक्षा कार्यालयले नियन्त्रण गर्ने काममा नचुकेको दाबी गर्छ । ‘त्यस्ता ट्युसन सेन्टरको अनुगमन गर्छौ,’ शिक्षा कार्यालयका सूचना अधिकारी भोजप्रसाद लम्सालले भने, ‘अवैध टिउसन सेन्टरलाई नियमन गर्ने कार्य जिल्ला प्रशासन कार्यालयको हो ।’
११ र १२ कक्षाका विधार्थीलाई लक्षित गरि कात्तिक महिनाबाट नगरमा दर्ता नभएका ट्युसन सेन्टर जताततै सञ्चालन हुँदै आएका छन् । शिक्षा कार्यालयको तथ्यांक अनुसार १३ वटा ट्युसन सेन्टरले अनुमति लिएका छन् । जबकी दर्ता नभएका त्योभन्दा दोब्बर छन् ।
शिक्षा कार्यालयका अनुसार अल्फा मल्टिपल एकेडेमी, सुर्खेत कम्प्युटर इन्स्टिच्युट, इन्टरनेशनल ईङ्ग्लिस ल्याङग्वेज एण्ड कोचिङ्ग सेन्टर, युर्निभर्सल कोचिङ्ग सेन्टर, ज्ञानकुञ्ज मल्टिपल एकेडेमीले अनुमति प्राप्त सेन्टर हुन् ।
साहारा एजुकेशनल कोचिङ्ग सेन्टर, सौगात मल्टिपल एकेडेमी एण्ड ट्युसन सेन्टर, एपेक्स कम्प्युटर इन्स्टिच्युट एण्ड ट्युसन सेन्टर, लर्डबुद्ध एजुकेसन इन्स्टिच्युट, एवान कोअपरेटिभ, जेनित एजुकेशन प्रमोसन, न्यु क्वालिटी एजुकेशन र प्यारागन मल्टिपल एकेडेमी पनि दर्ता छन् । एक बर्षअघि दर्ता भएका ७ वटा ट्युसन सेन्टर थिए ।
शिक्षा कार्यालयका प्राविधिक सहायक पार्वती ढुंगानाले १ वर्षअघि अनुगमन गर्दा भएको जानकारी दिइन् । ‘त्यसयता अनुगमन भएको छैन । तर एक बर्षअघिको अनुगमनपछि अनुमति लिनेको सख्या ११ पुग्यो,’ उनले भनिन् ।
कति छन् दर्ता नभएका टिउसन सेन्टर ?
शिक्षा कार्यालय र जिल्ला प्रशासनले समेत वीरेन्द्रनगरमा सञ्चालन भएका अवैध ट्युसन सेन्टरलाई कानूनी दायरामा ल्याउन सकेको छैन । नगर बाहिर दार्जनौ अवैध सेन्टर छन् । सदरमुकाम वीरेन्द्रनगरका खुलेका अवैध ट्युसन सेन्टरलाई नियन्त्रण नगरेपछि दर्ताबिनै ट्युसन सेन्टर सञ्चालन गरी कर छल्नेहरुको होडवाजी चलेको छ । यहाँसम्मकी वीरेन्द्रनगरको निकै पुरानो मिरर ट्युसन सेन्टर अहिलेसम्म दर्ता छैन ।
नेशनल टिउसन सेन्टर, मोनालिशा प्रशिक्षण केन्द्र, सिद्धापाइला एजुकेशन ट्युसन सेन्टर पनि दर्ता छैनन् । करदाता सेवा कार्यालय सुर्खेतले १३ वटा ट्युसन सेन्टरले मात्रै कर तिर्दै आएको जनाएको छ । तर एकिन आम्दानी कति हो ? सेवा कार्यालय पनि अनभिज्ञ छ । दर्ता भएका कतिपय सेन्टरले आम्दानी कम देखाएर कर छल्ने गरेका छन् ।
।