बाँके । आगोले पोलेर घाइते भएका बिरामीहरु आर्थिक अभाव र राम्रो उपचार सेवा नहुँदा समस्यामा परेका छन् । माघ २३ गते खान पकाउँदा जलेर गम्भीर घाइते भएकी बर्दिया बढैयाताल गाउँपालिका ५ फूलबारीकी २४ वर्षीया बिन्दु विकको उपचार हुन सकेन । ७५ प्रतिशत शरीर जलेकी बिन्दुलाई २४ गते नै भेरी अञ्चल अस्पतालका चिकित्सकले काठमाडौं रिफर गरेका थिए ।
आर्थिक अभावका कारण नेपालगन्जमै उपचार गराइरहेकी उनलाई आफन्त तथा शुभेच्छुकहरुले चन्दा उठाएपछि मात्र थप उपचारका लागि काठमाडौं पठाएका छन् । नेपालगन्जबाट बिरामीलाई काठमाडौंसम्म एम्बुलेन्समार्फत पठाउदा २५ हजार लाग्छ । बिन्दु जस्तै गरिब तथा विपन्न परिवारका सुत्केरी, बालबालिका तथा वृद्धवृद्धा आगोले पोल्ने समस्याबाट बढी प्रभावित हुने गरेका छन् ।
पश्चिम नेपालका सरकारी अस्पतालमध्ये नेपालगन्जको भेरी अञ्चल अस्पतालमा मात्रै आगोबाट पोलिएका बिरामीहरुको उपचार सुविधा छ । अग्नि हिंसापीडित नेपाल (बिभिएस नेपाल) ले बर्न बार्डका लागि आवश्यक बेड, एसी लगायतका उपकरण उपलब्ध गराएपछि ३ वर्षदेखि अस्पतालले ६ बेडको छुटै बर्न वार्ड नै बनाएर बिरामीलाई उपचार सेवा दिँदै आएको अस्पतालका प्रमुख कन्सल्टेन्ट सर्जन डा श्याम सुन्दर यादवले बताए ।
पछिल्ला दिन आगोले पोलिएर आउने बिरामीहरुको संख्या पनि बढ्दै गएको छ । हरेक वर्ष करिब एक सय बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । अहिले पनि अस्पतालमा आगोले पोलेर आएका ७ जना बिरामीहरुको उपचार भइरहेको डा यादवले बताए । अस्पतालले छुट्टै वार्ड स्थापना गरेर बिरामीलाई उपचार सेवा दिँदै आए पनि विशेषज्ञ चिकित्सक नभएका कारण सामान्य उपचार मात्रै हुन्छ ।
आगोले जलेर गम्भीर अवस्थामा रहेका बिरामीलाई थप उपचारका लागि काठमाडौं नै रिफर गर्नुपर्ने बाध्यता छ । आगोले पोलेर आउने बिरामीमध्ये दुई तिहाइ महिला र बालबालिका छन् । त्यस्ता बिरामीलाई अग्नि हिंसापीडित नेपालले सहयोग पुर्याउँदै आएको छ । आर्थिक अभावका कारण समस्यामा परेका बिरामीलाई औषधि, खाना र फिजियो थेरापीका लागि १० हजारसम्म सहयोग गर्दै आएको छ । दुई वर्षको अबधिमा ४८ जनालाई आर्थिक सहयोग गरेको बिभिएस नेपालका प्रतिनिधि सुरेन्द्र कार्कीले बताए ।
आगोले २० प्रतिशतभन्दा बढी शरीरको भाग जलेका बिरामीमध्ये कम्तीमा दुई तिहाइको संक्रमणका कारण मृत्यु हुने गरेको छ । ४० प्रतिशतभन्दा बढी जलेका बिरामीहरुको मृत्यु हुने सम्भावना बढी हुन्छ । २० प्रतिशतसम्म जलेका बिरामीको उपचारमा ५० हजारदेखि ७५ हजार, २० देखि ४० प्रतिशत जलेका बिरामीको एक लाखदेखि डेढ लाखसम्म र ४० प्रतिशतभन्दा माथि जलेका बिरामीको उपचारमा २ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ ।
सरकारले गरिब तथा विपन्न नागरिकहरुको उपचारका लागि यो वर्ष करिब एक अर्ब २० करोड रुपैयाँ छुट्टाएको छ । सरकारले विपन्न नागरिकको उपचारका लागि उपलब्ध गराउने रोग र बिरामी सम्बन्धी निर्दे्शिकामा आगोले पोलेका घाइते तथा बिरामीहरु समावेश नगरिएका कारण त्यस्ता बिरामीले उपचारमा छुट र निस्शुल्क औषधि पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हरेक वर्ष करिब ५६ हजार बिरामी आगोले पोलेर सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने गरेका छन् ।
तीमध्ये करिब २ हजार २ सयजतिको मृत्यु हुने गरेको छ । सरकारले गरिब तथा विपन्न नागरिक उपचार सहयोग कार्यक्रम अन्तर्गत क्यान्सर, मृगौला रोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर, पार्किन्सन, सिकलसेल एनिमिया गरी ८ रोगको उपचारका लागि हरेक बिरामीलाई १ लाख बराबरको उपचार खर्च दिँदै आएको छ ।
।