सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ६ का विमानस्थलमा साँघुरा धावनमार्गको सकस


विनोद शाही । सुर्खेत । बुद्ध एयरले २०७० सालमा १८ सिटे जहाजबाट साताको तीन दिन सुर्खेत–काठमाडौं हवाई उडान सुरु गर्यो । तर, रनवेको समस्या देखाउँदै उसले आठ महिनामै सेवा बन्द गर्यो । त्यसयता सुर्खेत विमानस्थलको धावनमार्गमा कुनै पनि ठूला जहाज अवतरण हुन सकेका छैनन् । बुद्ध एयरका ४२ सिटे र यतीको २९ सिटे जहाजले पनि रनवे र अवतरणकै समस्या देखाएर उडान भर्न अस्वीकार गर्दै आएका छन् ।
प्रदेश नम्बर ६ को प्रस्तावित राजधानीमा रहेको सुर्खेत विमानस्थल मात्रै होइन यो प्रदेशमा हाल सञ्चालनमा रहेका झन्डै एक दर्जन विमानस्थलको धावनमार्ग साँघुरा हुँदा उनीहरु एउटै समस्याबाट गुज्रिरहेका छन् । विमानस्थलहरुको धावनमार्ग साँघुरो हुँदा ठूला जहाजको उडान हुन सकेको छैन । ठूला जहाजको उडान नहुँदा यहाँका नागरिकले सहज रुपमा हवाई यातायातको सेवा प्राप्त गर्न समेत सकेका छैनन् ।

धावनमार्ग विस्तारमा चुनौती
सुर्खेत विमानस्थलको धावनमार्ग साँघुरो भए पनि त्यसको विस्तार गर्न सकिएको छैन । सुर्खेत उपत्यकाको गुरुयोजना विपरीत धावनमार्ग निर्माण गरिएकाले पनि अहिले समस्या आएको छ । विमानस्थलको धावनमार्ग उत्तर–दक्षिण दिशामा छ । गुरुयोजना अनुसार यो धावनमार्ग पूर्व–पश्चिम बनाइनुपथ्र्यो ।
अहिले धावनमार्गको लम्बाइ १ हजार २५५ र चौडाइ ३० मिटर छ  । पर्याप्त धावनमार्ग नहुँदा ठूला विमान कम्पनीले सुर्खेत–काठमाडौं उडान भर्न नसकेका हुन् । नागरिक उड्यन कार्यालयले ठूला जहाज ल्याउन निजी वायुसेवा कम्पनीलाई अनुरोध गरे पनि रन–वेको समस्या देखाउँदै उनीहरुले उडान भर्न सकिरहेका छैनन् । ‘विमानस्थलको धावनमार्ग सानो छ,’ नागरिक उड्यन प्राधिकरण सुर्खेतका प्रमुख विनोद पन्तले भने, ‘तत्काल विमानस्थल विस्तार गर्नसमेत नमिल्ने अवस्थामा छ, त्यसैले साना जहाजले मात्र सेवा दिनु परिरहेको छ ।’


पर्यटन व्यवसाय प्रभावित
यात्रुवाहक हवाई सेवा कम भएपछि यो क्षेत्रको पर्यटन व्यवसाय पनि प्रभावित भएको छ । आकर्षक पर्यटकीय गन्तव्यहरु भए पनि यात्रुवाहक हवाई सेवाको अभावले गर्दा पर्यटकहरुको आगमन कम हुने गरेको व्यवसायीहरु बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ६ का अध्यक्ष पदमबहादुर शाही विमानस्थलको समस्याकै कारण यस प्रदेशको पर्यटन व्यवसाय धरापमा परेको बताउँछन् ।
‘रारादेखि मानसरोबरसम्म जाने पर्यटकहरुका लागि हामीले उचित हवाई सेवा दिन सकिरहेका छैनौं,’ शाहीले भने, ‘यही सुर्खेत मात्रै अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्ने हो भने यहाँको पर्यटक उद्योगले फड्को मार्नेछ ।’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी यो प्रदेशको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय स्तरको विमानस्थल अपरिहार्य भइसकेको बताउँछन् । विमानस्थल साँघुरो हुँदा समग्र आर्थिक गतिविधि प्रभावित भएको उनको भनाइ छ ।

छिमेकी प्रदेशको भर
सुर्खेतस्थित विमानस्थल साँघुरो हुँदा ठूला जहाजको अवतरण कठिन भई सुर्खेत–काठमाडौं सीधा हवाई सम्पर्क छैन । जसले गर्दा सुर्खेतसहित प्रदेश नम्बर ६ का दस वटै जिल्लाका नागरिकले हवाई यातायातको प्रयोग गरी काठमाडौं पुग्न छिमेकी प्रदेशको भर पर्नुपर्ने बाध्यता छ । हाल सुर्खेत विमानस्थलबाट हेलिकप्टर, सिंगल इञ्जिन र ट्विनअटर जहाजको मात्र उडान भइरहेका छन्  । जसले गर्दा काठमाडौं पुग्नका लागि नेपालगन्ज विमानस्थलमा भर पर्नुपरेको छ  ।

खर्च धान्नै मुस्किल
नियमित रुपमा सञ्चालन भइरहेका यो प्रदेशका सातमध्ये ६ वटा विमानस्थल घाटामा रहेको पाइएको छ । पर्याप्त आम्दानी नहुँदा ती विमानस्थलको खर्च चलाउनै मुस्किल हुने गरेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार, यहाँका सातमध्ये एउटा विमानस्थलको मात्रै कमाइ एक करोडभन्दा माथि छ । हुम्लामा सिमीकोट विमानस्थलको कमाइ वार्षिक एक करोड छ । त्यसबाहेक अन्य कुनै पनि विमानस्थलको आम्दानी एक करोड छुन सकेको छैन । जसले गर्दा ती विमानस्थल सञ्चालनमा समेत समस्या देखिएको छ ।
प्राधिकरणका अनुसार, यहाँका ६ वटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत नपुग्ने अवस्थामा रहेको छ । यो प्रदेशमा सबैभन्दा बढी आम्दानी गर्ने हुम्लाको सिमीकोटको आम्दानी एक करोड, ५४ हजार ११४ रूपैयाँ रहेको छ । त्यसैगरी लामो समयदेखि व्यस्त मानिने जुम्ला विमानस्थलको कमाइ भने आठ लाख ७६ हजार ८१० रुपैयाँ मात्रै छ । सुर्खेत विमानस्थलको ४८ लाख ९५ हजार ४६३, रुकुम सल्लेको एक लाख ४३ लाख ७४१, रुकुम चौरजहारीको एक लाख ११ लाख १०६, डोल्पाको चार लाख ८० हजार ३०८ र रारा विमानस्थलले १७ लाख ३६ हजार ८२ कमाइ गरेका छन् ।

नयाँ विमानस्थल थपिँदै
हाल सञ्चालनमा रहेका विमानस्थलको कमाइ न्यून रहे पनि थप विमानस्थल निर्माण हुने क्रम भने जारी नै छ । कालिकोटको कोटबाडामा निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उक्त विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भई गत वर्ष नै परीक्षण उडान समेत भइसकेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको पर्खाइ
सुर्खेत विमानस्थल साँघुरो भएपछि यसको विकल्प खोजी भइरहेको छ । भेरीगंगा नगरपालिकास्थित मदानेचौरमा क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । भूगर्भविदहरुसहित कन्सल्टेन्सीले उक्त स्थानमा विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन गरिसकेका छन् । विमानस्थलका लागि आवश्यक पर्नेभन्दा बढी क्षेत्रफल रहेको उक्त स्थानलाई नै सुर्खेत विमानस्थलको विकल्पको रुपमा हेरिएको छ ।
सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत समेत उक्त विमानस्थल निर्माण गर्ने योजना सार्वजनिक गरेपछि यहाँका नागरिकमा खुसीयाली छाएको छ । उनीहरु सोही विमानस्थल निर्माणको पर्खाइमा छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी मदानेचौरमा विमानस्थल बनेमा प्रदेश नम्बर ६ को समृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताउँछन् । –नेपाल लाइभबाट

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार ०४:५०