सूचनाको शक्ति - The Power Of Information

        

पश्चिमी न्यून चापीय प्रणालीले बदली र वर्षा


काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ । उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात् भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली क्रमशः पूर्वतिर सर्दै गएकाले बुधबारदेखि मौसममा सुधार आउने मौसमविद् वरुण पौडेलले जानकारी दिए । काठमाडौँमा आज बिहानीपख हल्का वर्षा भएको थियो । मौसममा आएको बदलीका कारण राजधानीमा बढी चिसो महसुस गरिएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लामा २९, सुर्खेतमा १८, डडेल्धुरामा १२, दाङमा १२, दिपायलमा नौ, बाँकेमा आठ, धनगढी र भैरहवामा चार चार तथा पोखरा र काठमाडौँमा दुई दुई मिलिमिटर वर्षात् भएको छ । काठमाडौँको अधिकतम तापक्रम २० र न्यूनतम आठ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा ऋणात्मक ३.९ र सबैभन्दा बढी सिमरामा १२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलवार ०९:०३