सूचनाको शक्ति - The Power Of Information

        

बनमारा झारले किसान समस्यामा

सुर्खेत । दिनानुदिन झाँगिदै गएको बनमारा झारका कारण दैलेखका किसान समस्यामा परेका छन् । बनमारा झारले बारीको सबै घाँस सखाप पारेपछि किसानलाई समस्या भएको हो ।
खेतबारी, गराका कान्ला, डिल, छेउ, कुनासहित ठाउँमा बनमारा झार फैलिँदै जाँदा गाई, भैँंसी, घोडा, भेँडा, बाख्रा लगायतलाई खुवाउने घाँस देखिन छोडेको भैरवी गाउँपालिका–७ कुसापानीका रत्नप्रसाद गौतमले जानकारी दिए ।
जिल्लाको कुसापानी, चामुण्डा, विसाला, लकान्द्रा, काँसीकाँध, पिपलकोट, सिगासैन, बाँसीलगायत ठाउँमा बनमारा झारले किसानलाई समस्यामा पारेको छ । बनमारा झारका कारण पशुपालनमा निर्भर किसानलाई सास्ती भएको छ ।
नारायण, दुल्लु, चामुण्डा–विन्द्रासैनी, आठबिस नगरपालिका तथा ठाँटीकाँध, भैरवी, महाबु, नौमूले, भगवतीमाई, डुंगेश्वर र गुराँस गाउँपालिकामा बनमारा झार विस्तारित अवस्थामा रहेको दुल्लु नगरपालिकाका किसान पूर्णप्रसाद सापकोटाले बताए । ‘यसको निर्मूल किसान आफँैले गर्नसक्ने अवस्था छैन, स्थानीय तहले बनमारा झार निर्मुल पार्न पहल गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलवार ०७:०३