काठमाडौं । राष्ट्रियसभा चुनाव सकिएलगत्तै सातवटै प्रदेशमा राजनीतिक चहलपहल बढेको छ । दलहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् । यसको सुरुवात प्रदेश ३ बाट सुरु भएको छ । प्रदेश ३ का एमाले संसदीय दलका नेता डोरमणि पौडेल आइतबार मुख्यमन्त्री नियुक्त भएका छन् ।
उनी नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री बनेका हुन् । नेकपा एमाले र नेकपा माओवादीको वाम गठबन्धनले सरकार गठनको दावी गरे अनुसार ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । २०४९ सालदेखि २ कार्यकाल हेटौंडाका मेयर बनेका पौडेलले स्थानीय तह पुनर्संरचना आयोगको सदस्य बनेर पनि काम गरेका छन् ।
मुख्यमन्त्री पौडेलको सोमबार बिहान साढे ९ बजे सपथ लिएको प्रदेश प्रमुखको कार्यालयका सचिव चतुरभुज ज्ञवालीले जानकारी दिए । पौडेलले सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरिरहेका छन् । प्रदेश ३ सँगै अरु प्रदेशमा पनि मुख्यमन्त्रीको टुंगो लागिसकेको छ ।
आइतबार प्रदेश ४ मा एमालेले संसदीय दलको नेता चयन गरेसँगै सबै प्रदेशमा मुख्यमन्त्री बन्नेहरुको नाम टुंगो लागेको हो । एमालेले आइतबार प्रदेश ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङलाई चयन गरेको छ । संसदीय दलको नेता चयनसँगै गुरुङलाई मुख्यमन्त्री बन्न बाटो खुलेको हो । मुख्यमन्त्रीको टुंगो लागिसकेकाले प्रदेश ४ मा पनि सरकार गठनको गृहकार्य सुरु भएको छ ।
प्रदेश ५ मा सरकार गठनका लागि वाम गठबन्धनले दावी पेश गरेसँगै आज म्ूख्इम्न्त्री चयनको तयारी गरिएको छ । आइतबार एमाले संसदीय दलका नेता शंकर पोख्रेल र माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीको हस्ताक्षरसहित प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख उमाकान्त झा समक्ष दावी पेश गरिएको एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।
झा समक्ष पेश गरिएको दावीमा प्रदेश ५ मा एमाले संसदीय दलका नेता शंकर पोख्रेललाई मुख्यमन्त्री बनाउनु प्रस्ताव गरिएको छ । ८७ सदस्यीय प्रदेश नम्बर पाँचमा एमालेका ४१ र माओवादी केन्द्रका २० सहित वाम गठबन्धनको स्पष्ट बहुमत छ । चुनावअघि नै एमाले र माओवादीबिच ५ नम्बर प्रदेशमा पोख्रेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।
जस अनुसार पोख्रेल निर्विरोध रुपमा एमाले संसदीय दलको नेता चयन भएका थिए । यसअघि प्रदेश १ मा एमालेका शेरधन राई संसदीय दलको नेता चयन भैसकेका छन् । त्यहाँ उनी नै मुख्यमन्त्री बन्नेछन् । प्रदेश १ मा एमाले एक्लैको बहुमत रहे पनि माओवादी केन्द्रको समर्थनमा सरकार गठनको तयारी छ । एमाले र माओवादीबीच ४ वटा प्रदेशमा एमाले र २ वटामा माओवादीको तर्फबाट मुख्यमन्त्री बनाउने सहमति भैसकेको छ ।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धनबाट मुख्यमन्त्री चयन हुनेछ । संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री हुने निश्चित भैसकेको छ । माओवादीको भागमा परेको प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भैसकेका छन् । दुवै प्रदेशमा एमालेको समर्थनमा माओवादीबाट मुख्यमन्त्री चयन गर्ने तयारी छ ।
प्रदेश संसदमा बहुमत प्राप्त दलको संसदीय दलका नेता मुख्यमन्त्री हुने संवैधानिक व्यवस्था छ । कुनै एक दलको मात्र बहुमत नभएका प्रदेशमा दुई वा त्योभन्दा बढी दलको समर्थनमा प्रदेशमा प्रमुखबाट मुख्यमन्त्री हुने संवैधानिक व्यवस्था छ । सबै प्रदेशमा ७ वटा मन्त्रालय राख्नेगरी तयारी भैरहेको छ ।
।