देवी भण्डारी । दाङ । जिल्ला प्रहरी कार्यालय दाङले महाशिवरात्रीको अवसरमा विभिन्न स्थानमा लाग्ने मेलामा अप्रिय घटना हुनबाट बच्न सबैलाई अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–५ धर्नाको धारापानीस्थित पाण्डवेश्वर मन्दिर लगायत जिल्लाका विभिन्न स्थानमा लाग्ने मेलामा मादक पदार्थ सेवन तथा बेचविखन निषेध गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले मेलामा आफ्नो सामान सुरक्षित राख्न तथा वालबालिकाहरुलाई एक्लै नछाड्न, आफ्नो पालो आएमा मात्र मन्दिरभित्र प्रवेश गर्न, मन्दिर व्यवस्थापन समितिको नियम पालना गरिदिन पनि आम भत्तजनहरुमा अनुरोध गरेको छ । त्यस्तै मन्दिर परिसरमा जथाभावी फोहर नगर्न, अपरिचित व्यक्तिले दिएको चिजबस्तु नलिने तथा नखाने, जंगल क्षेत्रमा प्रवेश तथा प्रज्वलनशिल पदार्थको प्रयोग नगर्न र हात हतियार संकास्पद झोला, बस्तु भेटिएमा उक्त वस्तु नचलाई तत्काल नजिकको प्रहरीलाई जानकारी दिन अनुरोध गरेको छ ।
त्यसैगरी प्रहरीले बहुमुल्य गरगहना लगाई भिडभाडमा नजान, मन्दिरमा पुजापाठ सकिए पछि समयमै घर फर्कन, सिमित गतिमा सवारी साधन चलाउन तथा सवारी साधनलाई पार्किङ स्थलमा मात्र पार्किङ गर्न एवं ट्राफिक नियमको पूर्ण रुपमा प्रयोग गर्न अनुरोध गरेको छ । साथै कानून विपरित कार्य गरे वा गराएमा कानुन बमोजिम कारवाही हुने पनि जिल्ला प्रहरी कार्यालय दाङले जानकारी गराएको छ ।
।