सूचनाको शक्ति - The Power Of Information

        

मध्यपहाडीमा यातायात सञ्चालन नहुँदा आक्रोश


जाजरकोट । पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय आक्रोशित भएका छन् । तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकार भएका निकायसँग माग गरेका छन् ।
सरकारले निकै महत्व दिएर निर्माण गरेको मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदु र जगतिपुरका स्थानीयले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन माग गरेका हुन् । जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरुले जाजरकोटमा निर्माण भएको ९२ किमी सडकमा तत्काल गाडी गुडाउन माग गरेका हुन् ।
सडक बनेर पूरै बिग्रिसकेको र सडक विभाग, स्थानीय सरकार र निर्माण व्यवसायीले कुनै वास्ता नगरेपछि आफूहरुले जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र प्रदेशसभाका सांसद कृष्णा शाहमार्फत सरोकार भएकाको ध्यानाकर्षण गराएको स्थानीय अटल आचार्यले जानकारी दिए । करोडौँ रकम खर्च गरेर सडक बनाउने र गुणस्तर कायम नगर्ने अनि जनताले दुःख पाइरहने गरेको आचार्यले बताए ।
सडकको अवस्था निकै नाजुक बनेको तर सरोकार भएका निकायले कुनै ध्यान नदिएको उनीहरुको गुनासो छ । लिखित ज्ञापनपत्र दिएर भेरी नगरपालिकाको कुदुदेखि शिवालय गाउँपालिकाको सुयडासम्मको सडकमा तत्काल गाडी गुड्ने व्यवस्था गर्न आफूहरुले माग गरेको स्थानीयवासी बताउँछन् । रुकुमको चौरजहारी पार गरेपछि जाजरकोटको कुदुदेखि दैलेख र जाजरकोटको सिमाना सुयडासम्म ९२ किमीको लम्बाइ रहेको उक्त सडक वर्षात्को भेल र पहिराका कारण जोखिमपूर्ण र विनाकामको बन्दै गएको स्थानीयको गुनासो छ ।
यसबारे मध्यपहाडी लोकमार्ग आयोजनाका कार्यालय दाङका सिनियर डिभिजन इञ्जिनियर शुभराज न्यौपानेले लोकमार्गको जाजरकोट खण्डको सम्पूर्ण भागको स्तरोन्नति गर्ने काम शुरु हुन लागेको बताए । भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको सुयडासम्मको ९२ किमी सडकको कालोपत्र गर्ने, सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली बनाउने कामका लागि माघ महिनाभित्र टेण्डर आह्वान हुन लागेको छ ।
सडकको कालोपत्रका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआरको रिपोर्ट आइसकेकाले अब टेण्डर आह्वान हुन् लागेको उनको भनाइ छ । प्रतिकिमी रु छदेखि १० करोडसम्मको बजेट खर्च गर्ने गरी ९२ किमी सडक आगामी तीन वषभित्र कालोपत्र गरिसक्ने गरी आफूहरुले काम अघि बढाउन लागेको डिभिजन इञ्जिनियर न्यौपानेले बताए ।

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ०७:३१