सूचनाको शक्ति - The Power Of Information

        

टिकुलीगढमा दुर्लभ वन्यजन्तु ‘चौका’ भेटियो


दाङ । नेपाल र भारतमा मात्र पाइने दुर्लभ वन्यजन्तु चौका लमहीको नारायणपुर टिकुलीगढको वनमा भेटिएको छ । अंग्रेजीमा फोर हर्न एन्टिलोप नामले चिनिने सो जनावर नेपालको संरक्षित स्तनधारी जनावरमध्ये एक हो । एन्टिलोप समूहमा पर्ने चौकाको दुई जोडी सिङ हुने बताइएको छ । सोमध्ये पछाडिको सिङ अगाडिभन्दा लामो हुन्छ ।
नेपालमा हालसम्म यसको संख्या यकिन गर्न सकिएको छैन । वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालको नेतृत्वमा दाङमा वन्यजन्तु अनुसन्धान हुँदै आएको छ । सोही क्रममा दाङका विभिन्न वनमा स्वचालित क्यामरामा पनि जडान गरिएको छ । हालसम्म नेपालका बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा मात्र यसको आभिलेख गरिएको खनालले बताए ।
निकुञ्ज क्षेत्रभन्दा बाहिरको यो पहिलो अभिलेख हो । ‘हाम्रो अनुसन्धानले थप हौसला प्रदान गरेको छ, यस प्रजातिमा थप अनुसन्धान हुन जरुरीसमेत रहेको छ,’ खनालले भने दाङमा विभिन्न समयमा दुर्लभ वन्यजन्तु भेटिँदै आएको बताउँदै वन्यजन्तु अनुसन्धानकर्ता खनालले स्वचालित क्यामेराको प्रयोग गर्न थालिएपछि अनुसन्धानमा सफलता मिलेको हो भने ।

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ०३:२१