सूचनाको शक्ति - The Power Of Information

        

विपन्न समुदायका विद्यार्थीको भर सामुदायिक विद्यालय


कृष्ण दर्नाल । पाल्पा । पाल्पा जिल्लाको तानसेन नगरपालिका–६, कुन्सरेस्थित कुन्सरे आधारभूत विद्यालय आर्थिकरुपमा विपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने पाठशाला बनेको छ । आर्थिकरुपमा सम्पन्न अन्य समुदायका बालबालिका निजी बोर्डिङ स्कुलमा पढ्न गएपछि सामुदायिक विद्यालय जनजाति, दलित र अल्पसंख्यक समुदायका बालबालिकाको पाठशाला बन्दै गएको हो ।
कुन्सरे आधारभूत विद्यालयको सेवा क्षेत्रभित्र जनजाति र अन्य बाहुन क्षेत्रीको बस्ती रहे पनि विद्यालयमा अधिकांश मगर, कुमाल र दलित बालबालिकाले मात्र अध्ययन गर्दै आएका छन् । कक्षा आठसम्म ८२ जना विद्यार्थी रहे पनि छजना बाहुन क्षेत्री, १० जना दलित बालबालिका र अन्य सबै जनजाति समुदायका मगर र कुमाल समुदायका बालबालिकाले सो विद्यालयमा अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बस्यालले बताए ।
विद्यार्थी आकर्षणका लागि विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालनमा ल्याए पनि विद्यार्थी संख्या सोचेजस्तो गरी बढ्न सकेको छैन । कक्षा ५ सम्म अंग्रेजी माध्यममा कक्षा सञ्चालन हुँदै आएको प्रधानाध्यापक बस्यालले बताए । सामुदायिक विद्यालयमा अंगे्रजी माध्यमबाट पढाइ हुने यस विद्यालयको सिकाइ उपलब्धि ५२ प्रतिशत रहेको छ । सामुदायिक विद्यालयमा पैसा पनि लाग्दैन, तर पनि मानिस महँगो शुल्क तिर्दै निजी बोर्डिङ स्कुलतर्फ आकर्षित हँुदै आएका छन् ।
सरकारले सामुदायिक विद्यालयका लागि ठूलो लगानी गरे पनि निजी क्षेत्रबाट विद्यालय स्थापनाका लागि अनुमति दिन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्न सकेको छैन । १५ भन्दा कम विद्यार्थी रहेका विद्यालय धमाधम गाभिन थालेका छन् । पटकपटक अन्य समुदायका बालबालिकालाई विद्यालयमा पढ्न अभिभावकसँग अनुरोध गरिए पनि बालबालिका अन्यत्र पढ्न पठाउँछन् । अन्य सबै सहयोग गर्ने तर स्कुलमा विद्यार्थी पढ्न नपठाउने गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य ढाका बाकाबल बताए ।
तर, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या अझै बढाउनका लागि विद्यालयबाट पहल हुने उनले बताए । सरकारले शिक्षकलाई पारिश्रमिक र भवन निर्माण गरी शिक्षामा सबैको सामुदायको पहुँच विस्तारका लागि सामुदायिक विद्यालय सञ्चालनमा ल्याए पनि आर्थिकरुपमा सम्पन्न क्षेत्री बाहुनका बालबालिकाले निजी बोर्डिङमा पढ्न पठाएपछि सामुदायिक विद्यालय धराशायी बन्ने खतरासमेत बढेको छ ।
विद्यालयमा १० जना शिक्षक रहेको चारजना दरबन्दी, तीनजना राहत, दुई जना निजी र बालकक्षा शिक्षक हुन् । दुई निजी शिक्षकलाई स्थानीयवासीले पैसा संकलित हितकोषको रकमलाई समुदायमा परिचालन गरी सोही रकमको ब्याजले विद्यालयले शिक्षकका लागि पारिश्रमिक प्रदान गर्दै आएको जनाएको हो । सामुदायिक विद्यालयमा पढेका बालबालिका राज्यको प्रमुख तहमा पुगिसकेकाले सबै समुदायका बालबालिकाको अध्ययन गर्ने पाठशाला सामुदायिक विद्यालय बन्नुपर्ने शिक्षाप्रेमीहरु बताउँछन् ।

प्रकाशित मिति : २६ माघ २०७४, शुक्रबार ०४:०३