सूचनाको शक्ति - The Power Of Information

        

सिद्धार्थ बैंकको प्रक्षेपण : तीन वर्षमा २ अर्ब बढी नाफा, ईपीएस पनि बढ्ने


काठमाडौं । सिद्धार्थ बैंकले आउँदो ३ वर्षमा खुदनाफा ४८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ मा नाफा बढेर २ अर्ब ९ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आवमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको सूचनामा बैंकले वर्षेनी औसत १६ प्रतिशतका दरले खुदनाफा बढाउने लक्ष्य लिएको हो ।
बैंकले चालु आवमा १ अर्ब ५१ करोड २९ लाख रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ । आगामी १ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण सार्वजनिक गरेको हो । बैंकको नाफासंगै प्रतिसेयर आम्दानी (ईपीएस) समेत बढेर ३ वर्षमा २४ रुपैयाँ ३३ पैसा पुग्ने बैंकले जनाएको छ । गत आवमा बैंकको ईपीएस २१ रुपैयाँ ३९ पैसा छ । चालु आवमा घटेर १७ रुपैयाँ ४८ पैसा र आगामी आवमा पुनः बढेर २० रुपैयाँ ५४ पैसाँ पुग्ने प्रक्षेपण बैंकको छ । चुक्तापुँजी बढेपछि बैंकको ईपीएसमा गिरावट आएको छ ।
आव २०७६/०७७ मा बैंकले ब्याज आम्दानी बढेर १४ अर्ब ३ करोड पुग्ने प्रक्षेपण गरेको छ । गत आवमा बैंकको ब्याज आम्दानी ६ अर्ब ६५ करोड रुपैयाँ थियो । चालु आवमा बैंकको ब्याज आम्दानी बढेर ९ अर्ब ६७ करोड र आगामी आवमा अझ बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा बैंकले निक्षेप परिचालन बढाएर १ खर्ब ३७ अर्ब ९८ करोड रुपैयाँ पुग्ने अनुमान छ । चालु आवमा बढेर ९६ अर्ब ६३ करोड आगामी वर्ष बढेर १ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ निक्षेप परिचालन हुन सक्ने बैंकको अनुमान छ ।
यस्तै कर्जा लगानी पनि विस्तार भई ३ वर्षमा १ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु आवमा बैंकको कर्जा लगानी ८२ अर्ब ६६ करोड र आगामी वर्ष ९८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ । जगेडा कोषमा ६ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । बैंकले फागुन २ गतेदेखि ६८ करोड २६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
१० बराबर १ अनुपातमा निष्कासन हुन लागेको हकप्रद सेयरको बिक्री चैत ६ गते बन्द हुने बैंकले जनाएको छ । माघ २२ गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । हकप्रद सेयर बाँडफाँडपछि चुक्तापुँजी बढेर ७ अर्ब ५० करोड ८७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्तापुँजी ६ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ छ ।

प्रकाशित मिति : २५ माघ २०७४, बिहीबार १०:०४