सूचनाको शक्ति - The Power Of Information

        

सेयरधनीलाई ३२.५ प्रतिशत बोनस बाँड्दै प्राइम लाईफ


काठमाडौं । गत असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३२.५ प्रतिशत बोनस दिने भएको छ । त्यसमा ३२.५ प्रतिशत बोनस पश्चात इन्स्योरेन्सको पुँजी ८१ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।
कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट असार मसान्तसम्मको चुक्ता पुँजीको सो मात्रा अर्थात १९ करोड ८३ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले सो बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि आवश्यक रकम नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित हुनु पर्ने छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न सातौँ, आठौँ, नवौँ र दशौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको थियो ।
हाल कम्पनी सो मात्राको हकप्रद निष्कासन गर्ने प्रक्रियामा रहेको छ । त्यस्तै, हकप्रद पश्चात कायम हुने पुँजीमा उक्त बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिनेले पनि ३२.५ प्रतिशत बोनस सेयर पाउने इन्स्योरेन्सले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७४, बिहीबार ०९:५६