रेनुका गिरी । बुटवल । प्रदेश नम्बर पाँचको अस्थायी राजधानी बुटवलमा पूर्वाधार विकास निर्माणका कामलाई तीव्र पारिएको छ । विशेषगरी प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र मन्त्रीहरुको कार्यालय रहने क्षेत्र दरबारलाइनमा धमाधम सडक निर्माण, नाली, ढल निकास लगायतका पूर्वाधार विकास निर्माणका कामहरु भैरहेका छन् ।
बुटवल ४ दरबारलाइनस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय रहने भवन जाने मुख्य सडक र सहायक सडकहरुलाई फराकिलो पार्ने काम भैरहेको छ । साथै सडक किनारामा नाली निर्माण गर्नुका साथै ढलनिकासको प्रबन्धसमेत मिलाइएको छ ।
बिशेषगरी बिटिआई चोक, जेसिजचोक, नगरपालिका चोकबाट दरबारलाइनस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लगायत महत्वपूर्ण मन्त्रालय जाने सडकलाई बिस्तार गरी कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिइएको जनाइएको छ । यसक्षेत्रमा झण्डै ५० लाखको लागतमा विकास निर्माणका काम भैरहेको बुटवल उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अस्थायी राजधानी तोकिएपछि प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्रीको कार्यालयसहित महत्वपूर्ण मन्त्रालयहरु रहने क्षेत्र भएकाले यसक्षेत्रमा बिकास निर्माण र सरसफाईमा बिशेष ध्यान दिइएको छ । विगत लामो समयदेखि जीर्ण रहेका सडक, नाली तथा ढलहरु सिघ्र पुनःनिर्माण हुनु निकै सुखद पक्ष भएको बुटवलबासीहरुले बताएका छन् ।
।