सूचनाको शक्ति - The Power Of Information

        

नेपाली बजारमा टाटाको लाइट ट्रक विक्री सुरु


काठमाडौं । कमन रेल डिजल इन्जेक्सन (सिडिआरआई) समावेश गरिएको टाटा मोटर्सको लाइट ट्रक नेपाली बजारमा विक्री सुरु गरिएको छ । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले सात किसिमका ट्रकको विक्री सुरु गरेको हो ।
साना तथा मझौला गाडी विक्री गर्न सुरु गरेको कम्पनीले एलपिटि ८१०, एलपिटि १०१०, एलपिटि ९१२, एलपिके ९१२, एलपिटि ११०९, एलपिके १२१२ र एलपिटि १४१२ लगायतका ट्रकहरुको बिक्री सुरु गरेको जनाएको छ ।
गाडीमा तेल किफायति, डिजाइन लगायतका विशेषता रहेको कम्पनीको दाबी छ । छिट्टै नै ३ क्यूमीदेखि ६.५ क्यूमी क्षमतायुक्त टिप्पर विक्री गर्ने योजना बनाएको कम्पनीका अनुसार एघार टन बोक्ने क्षमतायुक्त विभिन्न मोडलका लाइट ट्रक बजार मूल्य १७ लाख ५० हजार रुपैयाँ रहेको छ । टाटा मोटर्सका व्यापार प्रमुख रुद्ररुप मैत्रले भने, ‘ग्राहकलाई विश्वस्तरीय उत्पादन दिनु नै हाम्रो प्रयास हो । टाटा मझौला तथा साना ट्रक नेपालको बाटो सुहाउँदो किसिमले डिजाइन गरिएका छन् ।’ उनका अनुसार एलपिटि ८१०, १०१० र ११०९ मोडलका ट्रकमा ५५० गियर बक्स सिस्टम (जिबत्रीएस) जडित छन् भने एलपिटी १४१२ मा ४० जिबीएस जडित छ ।
गाडीमा ५ ए ५० जिबीएसमा छ वटा फरवार्ड र एउटा रिभर्स गियर अप्सन रहेको कम्पनीले जनाएको छ । ओभर ड्राइभ विशेषताले गर्दा लामो यात्रामा यी ट्रकले राम्रो माइलेज दिनसक्ने कम्पनीले दाबी गरेको छ । जिबीएस ४० मा पाँच फर्वार्ड गियर र एउटा रिभर्स गियर समावेश छन् । यसमा ग्राहकले ३ लाख किलोमिटरसम्म अथवा ३ वर्षसम्मको वारेन्टी लिन सक्नेबारे कम्पनीले बताएको छ ।
ट्रकहरुमा १२५ हर्सपावर र ४०० एनएम टर्क समावेश गरिएको कम्पनीले बताएको छ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने ’नयाँ सिआर रेन्जका साना तथा मझौला कमर्सियल ट्रक बलियो र तेल किफायती छ । उनले ट्रकले नेपाली ग्राहकको विश्वास जित्ने र ट्रकबाट राम्रो प्रतिफल पाउने बताए ।

प्रकाशित मिति : २५ माघ २०७४, बिहीबार ०८:१२