बाँके । २०६८ सालमा दुई वटा कपडा सिलाउने मेशिनबाट शुरु गरेको काम यतिचाँडै झण्डै पन्ध्र हजारलाई कपडा सिलाउने प्रशिक्षण दिने प्रशिक्षण केन्द्रका रुपमा विकास होला भनेर मधु खड्काले सोचेकी थिइनन् । तर उनलाई सिलाईकटाईको काम शुरु गर्दादेखि नै ‘केही गर्नुपर्छ है’ भन्ने भने लागेको थियो । त्यही ‘केही गर्नुपर्छ’ भन्ने दृढ विश्वासकै कारण आज उनी बाँके, बर्दिया, दाङ्ग, सुर्खेतमा सिलाईकटाई पेशालाई व्यवसायिक बनाउन सफल भएकी छन् ।
यस क्षेत्रमा यो पेशामा उनले एकक्षत्र काम गरिरहेकी छन् भन्दा अन्यथा हुदैन । बाँके कोहलपुरमा रहेर खड्काले स्थानीय एफएममा व्यवस्थापक र समाचारमा समेत काम गरिन् । केही समय उनले सञ्चार क्षेत्रमै काम गरिन् । तर आर्थिक जोहो गर्नका लागि उनले २०६८ सालमा दुईवटा सिलाई कटाई मेशिन खरिद गरेर सटर भाडामा लिई कपडा सिउने काम गरिन् । अर्को एकजना साथीसँग मिलेर उनले केही महिना कपडा सिलाएपछि त्यसैलाई प्रशिक्षण केन्द्रका रुपमा विकास गरिन् ।
‘कपडा सिलाउने राम्रा जनशक्ति अभाव रहेको महसुस गरे । त्यसपछि मले मनकामना सिलाई कटाई सेन्टर दर्ता गरी सञ्चालन गरे,’ खड्काले भनिन् । खड्काले विपन्न महिलाहरुदेखि सम्पन्न महिलाहरु समेतलाई बोलाएर सिलाईकटाईको प्रशिक्षण दिन थालिन् । ‘बोलाएर प्रशिक्षण दिनुपर्ने अवस्था थियो । तालिम लिन नै नमान्ने,’ खड्काले भनिन्, ‘पछि यसको महत्वका बिषयमा जानकारी गराउँदै गएपछि पैसा तिरेरै सिप सिक्न आउन थाल्नुभयो ।’
सिलाईकटाई सिक्न धेरै आउन थालेपछि खड्काले २०७० सालमा गोरखनाथ ट्रेनिङ्ग सेन्टरका रुपमा दर्ता गरेर सिटिइभिटीबाट उच्चस्तरको सिलाईकटाई तालिमको स्वीकृति लिएर प्रशिक्षण दिन थालिन् । ‘अरुभन्दा भिन्न प्रकारको तालिम दिन थालेपछि थामिनसक्नु भयो,’ खड्काले भनिन्, ‘तालिम लिइसकेकाले कसैले आफै काम सुरु गरेका छन् भने कसैले रोजगारी पाएका छन् । जसका कारण म कहाँ प्रशिक्षण लिन आउनेहरु दैनिक बढे ।’
यस अवधिमा बाँके, बर्दिया, दाङ्ग र सुर्खेतमा समेत शाखा बिस्तार गरी उनले काम सुरु गरेकी छन् । ‘झण्डै १५ हजारलाई तालिम दिइसकेकी छु,’ खड्कले भनिन् । कोहलपुर लगायत अन्य जिल्लामा गरी १५ जना बढिलाई उनले प्रत्यक्ष रोजगारी दिएकी छन् । मासिक आठ हजारदेखि २५ हजारसम्म खाने प्रशिक्षकहरु रहेको उनले बताइन् । ‘योजना र आत्मशक्ति भयो भने जे पनि गर्न सकिने रहेछ । मलाई यति काम गर्छु भन्ने लागेको थिएन । तर गर्नुपर्छ भन्ने थियो,’ उनी भन्छिन्, ‘यसलाई अझ बिस्तार गर्ने योजनामा छु ।’ प्रस्तुती – कमल डाँगी
।