सूचनाको शक्ति - The Power Of Information

        

बिटुबी सेवा सुरुवात गर्दै ‘आइएमई पे’


काठमाडौं । आईएमई पेले आफ्नो बिटुबी सेवा सुरुवात गरेको छ । ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारासहित आफ्नो बिटुबी सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । बिटुबी सेवाको सुरुवातसँगै आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्नेदेखि बिजुली, इन्टरनेट, डिसहोम लगायतको बिल भुक्तानी गर्न सकिने तथा समय र पैसा दुवैको बचत हुने कम्पनीले दावी गरेको छ ।
आईएमई पेको देशभरि नै १३ हजार ५ सयभन्दा बढी टच पोइन्टसहितको मजबुत सञ्जाल रहेको जनाइएको छ । त्यसमा ७ हजारभन्दा बढी रेमिटेन्स एजेन्टहरू रहेका छन् । आफ्ना सेवाग्राहीहरूसित नजिक पुग्नका लागि आईएमई पेले आफ्नो विद्यमान रेमिटेन्स एजेन्टहरूको सञ्जालको दायरा भन्दा बाहिर गैर वित्तीय क्षेत्रको सञ्जालमा समेत आफ्नो क्षेत्रलाई विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
युकेएड सक्षम वित्तीय सेवामा पहुँच नामक कार्यक्रमको प्राविधिक तथा वित्तीय सहयोगमा मोबाइल मनी सेवा ‘आईएमई पे’को निर्माण तथा सञ्चालन गरेको आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकबाट २०७४ साल असारमा भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरिएको थियो ।
नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ अन्तरगत दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्नका लागि आईएमई डिजिटलले देशकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा अनुमतिपत्र प्राप्त गरेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७४, बिहीबार ०५:४८