सूचनाको शक्ति - The Power Of Information

        

तलब नपाएपछि शिक्षकद्वारा विद्यालयमा तालाबन्दी

कञ्चनपुर । दश महिनासम्म अध्यापन गरेको पारिश्रमिक नपाएपछि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित बैजनाथ आधारभूत बहुभाषिक विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षकले मंगलबार विद्यालयमा तालाबन्दी गरेका छन् ।
आफूहरुलाई पारिश्रमिक दिने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले चाँसो नदिएको भन्दै शिक्षकले सामूहिकरुपमा विद्यालयमा तालाबन्दी गरेका हुन् । शिक्षकको तालाबन्दीका कारण विद्यालयका पढाइ प्रभावित बन्न पुगेको छ । विद्यालयका प्रधानाध्यापक जादुराम रानाले शिक्षकको १० महिनाको करिब रु पाँच लाख तलबबापतको रकम दिन बाँकी रहेको जानकारी दिए ।
‘विद्यालयसित आम्दानी छैन, पढाइमा बाधा नपुगोस् भनेर निजी स्रोतबाट शिक्षक राख्यौँ,’ उनले भने, ‘तलब दिन नसकेपछि शिक्षकले नै तालाबन्दी गरे ।’ २५५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा ८० प्रतिशतभन्दा बढी आदिवासी÷जनजाति समुदायको विद्यार्थी अध्ययनरत छन् ।
आम्दानीका नाममा विद्यालयसित रहेको चार बिगाहा जमिन लिजमा दिए पनि थोरै रकम आउने गरेको उनले बताए । ‘शिक्षकलाई वार्षिक लाखौँ रुपैयाँ तिर्नुपर्छ,’ रानाले भने, ‘जमिनबाट वार्षिक रु २५ हजार मात्रै आम्दानी आउँछ ।’ विद्यालय सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ÷संस्थासित गुहार मागिरहेको प्राधानाध्यापक रानाको भनाइ थियो ।

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ०९:१६