सूचनाको शक्ति - The Power Of Information

        

विदेशको सीप, स्वदेशमा उपयोग


बाँके । भारतको राजधानी दिल्लीमा ‘आर्किटेक’ सम्बन्धी कार्यालयमा पाच वर्ष काम गरेपछि बुद्धिराम चौधरीले फर्किदा पैसा मात्र ल्याएनन्, सँगै आर्कषक घरका नमूना बनाउने सीप पनि ल्याए । उनले बनाउने घरका नक्सा र नमुनाहरु कुनै दक्ष इन्जिनियरले बनाउनेभन्दा कम छैनन् । इन्जिनियरहरुबाट समेत वाहीवाही पाएका छन् ।
नेपालगन्ज—१ मा बस्ने ४४ वर्षिय बुद्धिराम आर्थिक अभावका कारण एसएलसी उत्तीर्ण भएपछि अन्य कक्षा पढ्न पाएनन् । २०४७ सालमा बर्दियाबाट एसएलसी उत्तीर्ण गरेपछि सुर्खेतमा कानून पढ्न शुरु त गरे तर पैसाकै कारण पढाई सुरु हुन पाएन । त्यसपछि काम गर्ने अनि पढाई पनि भन्दै काठमाडौं हानिए । तर सोंचे जस्तो भएन ।
देशमा केही सीप नचले पछि कामको खोजीमा भारतको नया दिल्ली पुगेका उनले शुरुमा होटलका कुकको काम गरे । तर त्यो कामबाट नत पैसा धेरै हुने नत प्रतिष्ठा बढ्ने । त्यसपछि उनले पैसा पनि हुने र नया“ सीप पनि सिक्ने खालको कामको खोजी गर्दै जाने क्रममा ‘आर्किटेक’ सम्बन्धी कार्यालयमा काम गर्न पाए । जहा लाखौंदेखि अरवौं मुल्यका ठुला महलहरुको डिजाइन र घरका नमुना तयार हुन्थ्यो ।


‘इन्जिनियदेखि आर्किटेकसम्मले तयार गरेका डिजाइनलाई आधार बनाएर निर्माण गरिने नमूनाहरु बनाउने काम गर्ने अवसर मिल्यो । मैले त्यसलाई सदुपयोग गरे,’ चौधरी भन्छन्, ‘त्यहा मैले बिशुद्ध कामदार भएर मात्र काम गरिन । सिक्ने विद्यार्थीका रुपमा आफुलाई बुझे ।’ पाच वर्ष काम गरेपछि बुद्धिरामले नेपालगन्जमा १२ धुर जग्गा र घर जोडे । ‘मासिक चालिस हजारभन्दा बढि कमाई हुन्थ्यो ।’ उनी भन्छन्, ‘त्यसले जग्गा र सानो घर जोडे ।’
राम्रै पैसा कमाई भए पनि बिदेशमै बसिरहन उनलाई मन भएन । विदेशमा सिकेको सीप देशभित्रै उपयोग गरेर पैसा कमाउन सकिन्छ भनेर उनी एक वर्षअघि नेपालगन्ज फर्किए । त्यसपछि उनले घरमै बसेर आर्कषक घरका डिजाइन र नमूनाहरु तयार गर्न थाले । घरमै बसेर काम गर्दा बाहिर चर्चा भएन । छिमेकीहरुलाई देखाए । छिमेकीहरुबाटै अन्यत्र चर्चा चलेपछि अहिले इन्जिनियरदेखि घर बनाउन चाहानेहरुले पनि घरका मोडलहरु तयार बनाउन भन्न थालेका छन् ।
‘यि सबै कुरा इन्जिनियरहरुकै रेखदेखमा हुन्छ । सबै काम गरे पनि अब यो प्रमाणित गर्न मसँग शैक्षिक योग्यता छैन,’ उनी भन्छन् । एउटा घरको नमुनाको मुल्य रु पचास हजारदेखि रु एक लाखसम्म तोकेका छन् । पैसा धेरै भए पनि आर्कषक घर बनाउन चाहनेहरुले सम्पर्क गरिरहेको उनले बताए । घरको एउटै नमुना बनाउन एक महिनासम्म लाग्ने बुद्धिरामले बताए । घरका डिजाइन र नमूनाको प्रमाणिकरणका लागि इन्जिनियरसँग सम्पर्क गर्ने गरेको उनले बताए । प्रस्तुती – कमल डागी

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ०७:४६