सूचनाको शक्ति - The Power Of Information

        

चार वर्षपछि सुमार्गीको रोक्का रकम फुकुवा


काठमाडौँ । चार वर्षअघि बैंकमा जम्मा गरेको रकम नेपाल राष्ट्र बैंकले रोक्का गरेपछि तनावमा रहेका व्यापारी अजयराज सुमार्गीले रकम निकासाका लागि सबै शक्ति केन्द्र लगाए । आफ्नो अर्बौँको रकम रोक्का भएपछि त्यसलाई फुकुवा गर्न अनेकौँ राजनीतिक कनेक्सन लगाएका सुमार्गीले कतै सफलता पाएनन् ।
सुमार्गीको नेपाल इन्भेष्टमेन्ट बैंक तथा नबिल बैंकमा रहेको खातामा २ करोड १३ लाख ८८ हजार १६३ डलर जम्मा गरेको रकम स्रोत स्पष्ट खुलाउन नसकेको भन्दै नेपाल राष्ट्र बैंकले रोक्का गर्यो । यसले उनलाई तनावमात्रै भएन, रकम फुकुवाका लागि उनले राजनीतिक शक्ति केन्द्र धाउन थाले । तर, कुनै टुंगो लागेन ।
ठूलो मात्रामा रकम आएपछि नेपाल इन्भेष्टमेन्ट बैंक तथा नबिल बैंकले त्यसका विषयमा नेपाल राष्ट्र बैंकलाई जानकारी दिए । त्यसपछि केन्द्रीय बैंकले खाताको रकम फ्रिज गरिदियो । चार बर्षदेखि रोकिएको रकम फुकुवाको लागि अनेकौँ राजनीतिक कनेक्सन असफल भएपछि उनी सर्वोच्च अदालतको शरणमा जानुपर्यो । यसले उनलाई सफलता दिलायो ।
चार वर्षदेखि रोकिएको त्यो रकम सर्वोच्च अदालतमा रिट लिएर गएको तीन दिनमै फुकुवा भयो । सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालिको अख्तियारी लिएर सुभाषचन्द्र पौडेलले नेपाल राष्ट्र बैँक लगायतलाई प्रतिवादी बनाएर माघ २१ गते आइतबार दायर गरेको रिटलाई प्रधान न्यायाधीश गोपाल पराजुलीले भोलिपल्टै पेशी चढाइदिए तर सोमबार इजलास स्थगित भयो ।
उनको रिटमाथि तेस्रो दिन मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासमा पेशी तोकिएसँगै इजलासले कारण देखाउ आदेश जारी गर्दै ‘यसबाट उद्योगलाई क्षति पुगेको देखिन आएको’ भन्दै ‘प्रस्तुत रकम र सोबाट हुने लाभ समेत विदेश लैजान नपाउने गरी निवेदकले मागेको बखत भुक्तानी दिलाउनु र खाता सञ्चालनमा अवरोध नगर्नू नगराउनू’ भन्दै अन्तरिम आदेशसमेत दियो ।
सर्वोच्च अदालतले विदेशबाट आएको रकम उनलाई भुक्तानी दिनका लागि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएसँगै ब्यापारी अजयराज सुमार्गीको तनाव हटेको छ । न्यायाधिस तेजवहादुर केसीको एकल इजलासले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिव दुई करोड १३ लाख अमेरिकी डलर भुक्तानी गर्ने बाटो खुलाएसँगै व्यापारी सुमार्गीले उक्त रकम पाउने निश्चित भएको छ ।
अदालतले सुमार्गीको पैसा रोक्नु पर्ने कानुनी आधार नभएको र लगानी वोर्डले विदेशी फिर्ता नलैजाने सर्तमा स्वीकृति दिएकाले रकम भुक्तानीका लागि आदेश दिएको छ । अदालतले बिषयको गम्भिरता हेरी दुबै पक्ष राखी बृहत्तर रुपमा छलफल गर्न उपयुक्त भएको भन्दै फागुन २ गते नेपाल राष्ट्र बैंकसहितलाई उपस्थितिका लागि निर्देशन दिएको छ । अदालतले दुबै पक्षको बयान सुनेपछि आवश्यक निर्णय गर्ने जनाएको छ ।
‘रकम रोक्का राख्दा उद्योगलाई क्षति वा हानी रहेको देखिन आएमा सम्पति सुद्धिकरण र राज्यका अधिकार प्राप्त निकायबाट छानबिन भइरहेको भए त्यसमा वाधा अड्चन नहुने गरी प्रस्तु रकम र सोबाट हुने लाभ समेत विदेश लैजान नपाउने गरी निवेदकले माग गरेको वखत भुक्तानी दिलाउनु र खाता सञ्चालनमा अवरोध नगर्नु नगराउनु,’ अन्तरिम आदेशमा भनिएको छ ।
सुमार्गीले बेलाबेलामा साइप्रसको कम्पनी एयरबेल तथा ब्रिटिस भर्जिन आइल्याण्डको कम्पनी जोधरबाट नेपालमा पैसा ल्याउँदै आएका थिए । यी दुवै सेल कम्पनीहरु हुन् । यस्ता कम्पनीहरु ट्याक्स हाभेन देशहरुमा खोलिन्छन् । एयरबेल र जोधर दुवै कम्पनी सुमार्गीकै हुन् । यसअघि महालेखा परीक्षकको कार्यालयले सुमार्गीको कम्पनीसित कूल एक अर्ब ४० करोड भन्दा बढी लाभकर असुल्न बाँकी रहेको भन्दै असुल्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ०७:३४