दार्चुला । सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सकिएको छ । निर्माण कार्य सकिएसँगै राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युतको औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ ।
दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको आयोजनाको औपचारिक उद्घाटन यही माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको छ । उद्घाटनका लागि प्रधानमन्त्री आयोजनास्थल बलाच पुग्ने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगै उद्घाटनका लागि ऊर्जामन्त्री कमल थापासमेत बलाँच पुग्ने जनाइएको छ । प्रधानमन्त्रीले औपचारिक रुपमा उद्घाटन गरेसँगै आयोजनाले व्यवसायिक उत्पादन थाल्नेसमेत आयोजना प्रमुख दाहालले जानकारी दिए । उद्घाटनका लागि आयोजना स्थलमा आवश्यक तयारी भइरहेको छ ।
आयोजनाले हाल १५/१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको र आयोजना निर्माण शुरु भएको झण्डै ११ वर्षपछि विद्युत् उत्पादन भएको हो ।
आयोजना निर्माणमा भएको ढिलाइले लागत बढेर १६ अर्ब रुपैयाँमा पुगेको छ । आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । आयोजनाका अनुसार यसबाट वार्षिक रु एक अर्ब १० करोड आम्दानी हुनेछ । आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो ।
प्रधानमन्त्री दार्चुला पुग्ने भएपछि जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयबाट परिपत्र गरिएको छ । सो दिन सुरक्षा व्यवस्थालाई चुस्त एवम् दुरुस्त बनाउन परिपत्र प्राप्त भएको प्रजिअ जनार्दन गौतमले जानकारी दिए ।
।