सूचनाको शक्ति - The Power Of Information

        

सांसद हुँदा पनि सम्पर्कमा छैनन् बिना


रेनुका गिरी । बुटवल । आइतबारको प्रदेश सभाको पहिलो बैठक अगावै कुर्सी मिलाउँदा ५ वटा राजनीतिक दलको नाम लेखेर बस्ने ठाउँ छुट्याइएको थियो । निर्वाचन आयोगका अनुसार पाँच नम्बर प्रदेशमा प्रत्यक्ष तथा समानुपातिकका गरी ६ वटा दल छन् ।
पाँच नम्बर प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, समाजबादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चा रहेका छन् । प्रदेश सभाको बैठकस्थलमा त्यहाँ राजपाको नाम उल्लेख थिएन । प्रदेश नम्बर ५ मा राजपाले एक सिट पाएको छ । राजपाको समानुपातिक तर्फको सिटमा विना पन्तलाई निर्वाचन आयोगले निर्वाचित गरेको थियो । तर विना सपथग्रहण समारोहमा उपस्थित भइनन् । अहिलेसम्म सपथ ग्रहण नगरेकाले बैठक स्थलमा राजपाको नाम उल्लेख नभएको हो ।
माघ ७ गते प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणको लागि विना पन्तलाई औपचारीक निमन्त्रणा गने प्रयास गरे पनि सफल भएन । अन्य सबै सांसदलाई फोनबाट जानकारी गराएको जिल्ला निर्वाचन कार्यालयले उनको फोन नम्बर पत्ता लगाउन नसकेपछि खोजतलास गरी घरमै चिठी पु¥याउन गयो । निर्वाचन कार्यालयका कर्मचारीले घर त फेला पारे तर बिनालाई भने भेटाउन सकेनन् ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले कार्यालयका तर्फबाट खोजी भए पनि घरमै जाँदा समेत बिनालाई भेटाउन नसकिएको बताए । निर्वाचन आयोगको वेवसाईडमा प्रदेश सभा सांसदहरुको सुचीमा विना पन्तको व्यक्तिगत विवरण भएपनि उनको फोटो भने राखीएको छैन । व्यक्तिगत विवरणमा बिनाको ठेगाना रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ उल्लेख छ ।
पतिको नाम प्रेमराज शर्मा लोहनी हो । लोहनी राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष सवेन्द्रनाथ शुक्लका साला हुन् । शुक्लले आफ्नो नातेदारलाई प्रदेश सभामा पठाएको भन्दै पार्टीभित्र असन्तुष्टी छ । पार्टीभित्र काम गरेकालाई भन्दा पनि नातेदारलाई पठाएको भन्ने विषयमा विवाद छ । सोही विवादका कारण बिना सपथ लिन तथा प्रदेश बैठकमा सहभागि नभएकी हुनसक्ने आशंका कतिपयको छ ।
यस बिषयमा बुझ्ने प्रयत्न गर्दा पार्टीका उपाध्यक्ष शुक्ले फोन नै उठाएनन् । सपथ ग्रहण नगरेसम्म कुनैपनि सदस्य प्रदेश सभा बैठकमा सहभागि हुन मिल्दैन । दलभित्र विवाद भए पनि सदस्यलाई सपथ ग्रहणमा कुनै रोकावट हुँदैन । निर्वाचन आयोगले बिनाका नाममा प्रमाणपत्र जारी गरिसकेकाले पार्टीले बिनालाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई पठाउन पनि सजिलो छैन । सदस्यको निधन भएमा, दल त्याग गरेमा वा पदबाट राजिनामा गरेमा मात्रै दलको सिफारिसमा निर्वाचन आयोगलाई छिनोफानो गर्ने अधिकार हुने निर्वाचन कार्यालयले जनाएको छ ।
आइतबार बुटवल उद्योग बाणिज्य संघको सभाहलमा तोकिएको पहिलो प्रदेश सभा बैठकमा पाँच नम्बर प्रदेशका ८७ जना सांसद मध्ये ८० जना सहभागि भएको प्रदेश सभा सचिव सुरेन्द्र अर्यालले बताए । पाँच नम्बर प्रदेश सभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा भएपनि राजपाकी एक मात्रै सदस्य सहभागि नभएपछि ५ दल सहभागि थिए ।

प्रकाशित मिति : २३ माघ २०७४, मंगलवार १०:५०