सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देही र नवलपरासीका औषधी पसलमा अनुगमन


बुटवल । औषधी व्यबस्था विभागबाट आएको अनुगमन टोलीले चार दिनमा रुपन्देही र नवलपरासीका करिव ६० वटा औषधी पसलको अनुगमन गरी मंगलबार फर्किएको छ । अनुगमन टोलीले जघन्य प्रकारका अनियमितता गर्ने औषधी पसल सञ्चालकलाई मौखिक रुपमा विभागमा बोलाएको छ ।
सामान्य सुधार गर्न सकिने कमीकमजोरीहरु सुधार गर्नका लागि निर्देशन गरिएको औषधी व्यवस्था विभागबाट अनुगमनमा खटिएका अनुसन्धान अधिकृत रमेश थपलियाले जानकारी दिए । अनुगमनका क्रममा कसैले राम्रो पनि गरेको भेटिएको छ भने कसैले एकदमै नराम्रो गरेको पनि भेटिएको उनले बताए ।
उनका अनुसार दर्ता नभएका औषधी विक्री वितरण गर्ने, एकजनाको नाममा दर्ता भएको औषधी पसल अर्कैले सञ्चालन गर्ने, लागु औषधजन्य औषधी विक्री वितरण गर्दा रेकर्ड नराख्ने गरेका औषधी पसल सञ्चालकहरुलाई विभागमा बोलाइएको हो ।
त्यस्तै अनुगमनका क्रममा सामान्य कमिकमजोरी देखिएका औषधी पसलहरुमा लागु औषध सम्बन्धि औषधी बिक्रि वितरण गर्दा डाक्टरको प्रेप्किप्सनका आधारमा रेकर्ड राखेर मात्रै विक्री वितरण गर्न, औषधी पसलमा फार्मेसी गरेका व्यक्ति मात्रै बस्न, मिति सकिएका औषधी नबेच्न, पसलको बोर्डमा पसलको मात्रै नाम लेख्न र त्यसबाहेक डाक्टरहरु कसैको पनि नाम नलेख्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
दुई जिल्लाको अनुगमन गरेको उक्त टोलीले अनुगमन प्रतिवेदन तयार गरेर शुक्रबार मात्रै विभागमा बुझाउने भएकाले अनुगमनको विस्तृत रिपोर्ट त्यसपछि मात्रै आउने अनुसन्धान अधिकृत थपलियाले बताए ।

प्रकाशित मिति : २३ माघ २०७४, मंगलवार १०:२९