सूचनाको शक्ति - The Power Of Information

        

दाङमा यस्तो छ राष्ट्रियसभा निर्वाचन तयारी


जयन्ती चौधरी । दाङ । भोेलि बुधबार हुने राष्ट्रियसभा निर्वाचनको तयारी दाङमा तीव्र रूपमा भइरहेको छ । पाँच नम्बर प्रदेशको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले भोली हुने निर्वाचनको तयारी तीव्र पारिएको बताए । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको र मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको उनले बताए ।
एउटा मतदान केन्द्रमा प्रदेश सांसद र अर्को केन्द्रमा स्थानीय तहका प्रमुख उपप्रमुखहरूले मतदान गर्ने गरि मतदान केन्द्रको निर्माण गरिने मुख्य निर्वाचन अधिकृत रावलले बताए । ‘अरु सम्पूर्ण तयारी पूरा भइसकेको छ र आजै दिउँसोसम्म मतदान केन्द्र पनि निर्माण गरिसक्छौं,’ निर्वाचन अधिकृत रावलले भने । उनले मंगलबार बिहानैदेखि खुला मैदानमा मतदान केन्द्र निर्माणको काम थालनी गर्ने तयारी गरिएको भएपनि पानीपर्ने जस्ता अवस्था देखिएको हुँदा केही बिलम्व गरिएको बताए ।
‘पानी पर्लाजस्तो अवस्था देखिएको छ, त्यसैले मतदान केन्द्रमा टेन्ट लगाउने कि के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ,’ निर्वाचन अधिकृत रावलले भने । भोलि हुने निवार्चनमा ५ नम्बर प्रदेशमा ३०५ जना मतदाता रहेका छन् । निर्वाचन अधिकृत रावलका अनुसार ५ नम्बर प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र २१८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार प्रतिव्यक्ति १८ निर्धारण गरिएको छ ।
उनीहरूले ५ जना राष्ट्रियसभा सदस्य निर्वाचित गर्नेछन् । ३ जना अन्यबाट, १ जना दलितबाट र १ जना अपाङ्गता र अल्पसंख्यकबाट गरि ५ जना निर्वाचित गर्न भोलि मतदान हुन लागेको हो । यो प्रदेशबाट यसअघि नै ३ जना महिला नेकपा एमालेबाट कोमल वली (दाङ), एमालेकै मीना बुढा (रोल्पा) र नेपाली कांग्रेसको तर्फबाट अनिता देवकोटा (दाङ) निर्विरोध निर्वाचित भइसकेका छन् । भोलिको मतदानबाट ५ जना निर्वाचित हुने भए पनि चुनावी प्रतिस्पर्धामा ८ जना मैदानमा उत्रिएका छन् ।
दाङमा प्रदेश ५ अन्तरगतका १२ जिल्लाका प्रदेशसभा र स्थानीय तहका निर्वाचित पदाधिकारीहरूमध्ये अधिकांश मतदानका लागि दाङ आइसकेका छन् । तर नजिक घर भएका केही भने आज बेलुका र भोलि बिहानसम्म आइपुग्ने तयारीमा रहेका छन् । मतदान अधिकृत रावलले मतदानस्थल, मतगणना स्थलको छनोट, मतपत्रहरू आइसकेको, सुरक्षा व्यवस्था लगायत सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । दुईवटै मतदान केन्द्रहरूमा मतदान अधिकृतसमेत तोकिसकेको उनले बताए ।
प्रदेश सांसदहरूले मतदान गर्ने केन्द्रको अधिकृतमा सरकारी वकिल चन्द्रबहादुर सिञ्जाली र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहेको केन्द्रमा जिल्ला शिक्षा कार्यालयका उपसचिव विनोद गौतमलाई खटाइएको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए । मतदानमा सहभागी हुने र अन्य अतिथिहरूलाई स्वागत तथा व्यवस्थित बसाईका लागि सबै क्षेत्रबाट भूमिका निभाउने समेत निर्णय भएको जानकरी दिइएको छ ।
सुरक्षा, सरसफाई, होटलको व्यवस्थापनमा विशेष ध्यान दिने गरि संमन्वयकारी भूमिकाहरू निभाउने विषयमा जिल्लामा सोमबार नै छलफल भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा क्रियाशील राजनीतिक दल तथा अन्य सरोकारवाला निकायहरुसँग गरेको छलफलमा त्यस्तो जानकारी दिइएको थियो ।
यस्तै घोराही उपमहानगरपालिकाले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ५ को घोराहीमा आएका मतदाताहरूलाई यहाँका पर्यटकीय स्थलहरू भ्रमण गराउने भएको छ । मेयर नरुलाल चौधरीले घोराही उपमहानगरले घोराहीमा आउने सबै मतदातालाई अतिथिको रूपमा स्वागत गर्दै भोजनको व्यवस्था गर्ने र यसक्षेत्रका पर्यटकीय सम्पदाको अवलोकन गराउने निर्णय गरिएको बताए । उनले विभिन्न १२ जिल्लाबाट मतदानका लागि दाङ आएका सबैलाई अथितिको रूपमा गर्न स्वागत गेट निर्माण गर्न लागिएको मेयर चौधरीले बताए ।
त्यसपूर्व नगर क्षेत्रको सरसफाई गरी मतदान स्थललाई व्यवस्थित बनाउने गरी कामहरू सुरू भएको चौधरीले जानकारी दिए । ‘प्रदेशबाट आउने प्रदेश सांसद र स्थानीय तहका प्रमुख,उपप्रमुख एवं अतिथिहरूलाई स्वागत सम्मानका लागि गेट निर्माण, नगरका पर्यटकीय क्षेत्रहरूको भ्रमण र चुनावका दिन बिहानको भोजनको व्यवस्था गरिएको छ,’ मेयर चौधरीले भने । उनले ऐतिहासिक अवसरमा आउने मतदातालाई घोराही नगरले अतिथिको रूपमा स्वागत गर्न लागेको बताए ।

प्रकाशित मिति : २३ माघ २०७४, मंगलवार ०८:५२