सूचनाको शक्ति - The Power Of Information

        

सेन्सर धारामा होटल व्यवसायीको आकर्षण


पाल्पा । सुविधा सम्पन्न अर्थात् एकतारे होटलदेखि ठूला लगानीका होटलमा पानी खपतका लागि जडान गरिने सेन्सर धाराको आकर्षण अब साना होटलहरुमा पनि देखिएको छ । पहाडी जिल्ला पाल्पाका अधिकांश होटलहरुमा आजभोली सेन्सर धारा जडान गरेको देख्न पाइन्छ ।
अन्य धाराभन्दा पानी बचतका लागि उपयोगी मानिएको सेन्सर धारा जडानप्रति पाल्पाका होटल व्यवसायीको आकर्षण बढेको हो । धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति होटल व्यवसायी आकर्षित भएसँगै पाल्पाका होटलहरुमा सेन्सर धारा प्रयोगमा आउन थालेको छ ।
पानीको बचतका लागि सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च रोक्नका लागि पाल्पा सदरमुकाम तानसेनका होटलहरुमा यसको प्रयोग बढेको हो । होटलमा पानी प्रशस्त नहुनु र त्यसमा पनि हात मुख तथा दाँत माझ्दा धारा खोलेर पानी अनावश्यक रुपमा खर्च हुने भएकाले पानीको बचतका लागि सेन्सर धाराको प्रयोग बढेको होटल व्यवसायीहरु बताउँछन् ।
धारामुनि हात देखाउँदा मात्र पानी आउने र धाराबाट हात बाहिर हुनासाथ पानी आउन रोकिने हँुदा पानीको खपत कम भएको मोनिका गेष्टहाउसका सञ्चालक जीवलाल सुवेदीले बताउँछन् । होटल व्यवसायी मात्रै होइन तानसेनका घरहरुमा पनि सेन्सर धारा जडान गर्न थालिएको छ ।
होटल तथा घरमा सेन्सर धारा जडानले पानी कम खर्च हुने गरेकाले यसको प्रयोगप्रति आकर्षण बढेको हो । जनसंख्या बढेसँगै तानसेनमा आवश्यकता अनुसार पानी व्यवस्थापनमा ध्यान दिन नसक्दा वर्षेनी पानीको अभाव बढेपछि सेन्सर धाराप्रतिको आकर्षण बढेको स्थानीयहरुको भनाई छ ।
घरघरमा खानेपानीका धारा जडान गरिए पनि हप्तामा एकपटक मात्र पानी आउन थालेको उपभोक्ताको गुनासो छ । मोनिका गेष्टहाउसका सञ्चालक जीवलाल सुवेदीका अनुसार तानसेनमा खानेपानीको चर्को समस्याले होटल व्यवसायी समस्यामा रहेका बेला सेन्सरधाराले समस्याको समधान गर्दै आएको छ ।
१६ हजारमा प्रतिसेन्सर धारा जडान गर्न पाएपछि होटल व्यवसायीले धमाधम धारा जडान गर्न थालेका हुन् । महिनामा २५ ट्यांकी पानी होटलमा भर्दासमेत अझै पानीको समस्या हँुदै आएकोमा अहिले सेन्सर धारा जडानपछि मासिक १५ ट्यांकी पानी होटलका लागि प्रशस्त भएको होटल व्यवसायी सुवेदीले बताए ।
पानीको अभाव खड्किएका शहरका होटल तथा घरका सामान्य धारा प्रयोग गर्दा बढी पानी खर्च हुने गर्दछ । सेन्सर धारा जडान गरेमा आवश्यक पानी मात्र खर्च हुने हँुदा पानीको खपत लागि आधुनिक सेन्सर धाराप्रति आकर्षित हुनु आवश्यक रहेको छ ।
पाल्पामा सेन्सर धारा जडान गर्नेे काम तीव्रगतिमा अघि बढेको छ । ब्याट्री तथा विद्युतको सहायताबाट सेन्सर धारा चलाउन सकिने धारा बिक्रेता गंगा ट्रेडका सुरज सुवेदीले बताए । ब्याट्रीको प्रयोगबाट धारा चलाउँदा सात महिनासम्म काम गर्दछ । विद्युतको सहायतामा धारा सञ्चालन गर्दा न्यून विद्युत् महशुलमै सुविधा उपयोग गर्न सकिने सुवेदीले बताए ।

प्रकाशित मिति : २३ माघ २०७४, मंगलवार ०७:२२