सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा मन्त्री बन्न दौडधुप


बुटवल । प्रदेश नं ५ को पहिलो बैठक सकिएसँगै मन्त्रीमण्डलमा आफू पर्नका लागि सांसदहरुको दौडधुप सुरु भएको छ । पहिलो बैठकले फागुन २ गतेका लागि सभामुख निर्वाचनको मिति तय गरेको छ । प्रदेश नं ५ मा वाम गठबन्धनको स्पष्ट बहुमत रहेको छ । यो प्रदेशले ११ वटासम्म मन्त्रालय बनाउने सम्भावना छ । यद्यपि टुंगो भने नलागेको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानाकारी दिए ।
नियम अनुसार सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रालय गठन गर्नुपर्छ । यो प्रदेशमा भने १० प्रतिशत रहने गरी ११ मन्त्रालय बनाउने तयारी भएको बताइएको छ । त्यस कारणले पनि वाम गठबन्धनको भाडबण्डा अनुसार ७०–३० को अनुपातमा मन्त्रीमण्डल गठन हुनेछ । भागबण्डामा आफू पनि छिर्नका लागि शीर्ष तहका नेताहरुलाई भेटेर माहोल आफ्नो पक्षमा पार्न नेताहरु लागिपरेका छन् ।
दाङबाट प्रदेशसभामा विजयी शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का छ । त्यसकारण अन्य शक्तिशाली मन्त्रालय लुम्बिनीबाट हुनुपर्ने नेताहरुले बताएका छन् । मुख्यमन्त्री एमालेले पाउने भएपछि सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेको हुने सहमति छ । सभामुखमा गुल्मीका सुदर्शन बराल र रुकुमका पूर्ण घर्तीमगरको चर्चा छ । उपसभामुख एमालेको बन्ने भए पनि अहिलेसम्म कसैको चर्चा छैन ।
यता, मन्त्री बन्न एमाले सांसदहरूबीच नै प्रतिस्पर्धा छ । नवलपरासीका बैजनाथ चौधरीलाई मन्त्री बनाउन दबाब सुरु भएको छ । रूपन्देहीबाट लीला गिरी र भोजप्रसाद श्रेष्ठ दुवैले मन्त्री बन्ने इच्छा देखाएका छन् । महिलामा विमला पन्थीको नाम चर्चामा छ । माओवादी केन्द्रबाट रूपन्देहीका दधिराम न्यौपाने मन्त्री बन्ने लाइनमा अगाडि छन् । गठबन्धनसँगको तालमेलमा रुपन्देहीबाट न्यौपाने मात्र विजयी भएका थिए ।
त्यसकारण पनि उनी राम्रो मन्त्रालय नपाए सभामुख नछोड्ने दाउमा छन् । मन्त्री हुने लाइनमा दाङकी माओवादी नेत्री दामा शर्माको नाम सर्वसम्मत जस्तै छ । सहिद परिवारकी उनी लामो समयदेखि राजनीतिमा छिन् । यस्तै बाँकेबाट प्रत्यक्षमा चुनाव जितेकी कृष्ण केसीले पनि दाबेदारी पेस गरेकी छन् । गुल्मीका सुदर्शन बराल, प्युठानका कृष्णध्वज खडका र रोल्पाबाट निर्वाचित कुलबहादुर केसीले पनि मन्त्री बन्न लबिङ सुरु गरिसकेको एक माओवादी नेताले बताए ।
माओवादी नेता तथा प्रदेश सांसद दधिराम न्यौपानले संसदीय दलको नेताका लागि धेरै आकांक्षी भएकाले नेता चुन्न ढिला भएको बताएका छन् । उनले सहमतिमै संसदीय दलको नेता छान्ने बताए । नेकपा एमालेले माघ ७ गते नै संसदीय दलको नेता छानिसके पनि माओवादी केन्द्रले भने चयन गरेको छैन । प्रदेश ५ मा तेस्रो दल बनेको कांग्रेसले पनि अहिलेसम्म संसदीय दलको नेता छान्न सकेको छैन ।
प्रदेश ५ मा प्रत्यक्ष र समानुपातिक गरी ८७ सांसद रहेका छन् । एमालेका ४१, कांग्रेसका १९, माओवादीका २०, संघीय समाजवादी फोरमाका ५, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका १र१ सांसद रहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७४, मंगलवार ०५:१७