सूचनाको शक्ति - The Power Of Information

        

पहिलो पटक संसदीय अनुभव बटुल्दै सांसद


सिद्धराज भट्ट/शेरबहादुर सिंह । धनगढी । त्रिपन्न प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दै छन् । चारवटा दलका सांसद रहेको यस प्रदेशको संसदमा सबैभन्दा बढी नेकपा एमालेका २५ जना सांसद रहेका छन् । एमालेका सबै सांसद संसदमा नयाँ अनुहार हुन् । नेकपा माओवादी केन्द्रका १४ जनामध्ये कैलालीबाट प्रदेशसभामा निर्वाचित वीरभान चौधरी यसअघि २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रदेश संसदमा नेपाली काँग्रेसका १२ जना सांसद रहेका छन् । डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद भरतबहादुर खड्का यसअघि २०७० सालमा दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए । राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फकी प्रदेशसभा सदस्य मालामती राना पनि यसअघि सांसद भएकी थिइन् । प्रदेशसभाको आइतबार पहिलो बैठक सकिएपछिसांसद रानाले घर आँगनमै रहेको संसद् भवनमा सम्बोधन गर्न पाउँदा खुशी व्यक्त गरिन् ।
‘अब प्रदेशका मुद्दाका विषयमा मात्रै हामी बढी केन्द्रित हुन पाउने भयौँ,’ उनले भनिन्, ‘अघिल्लो पटक संसद्मा मुलुककै लागि बढी केन्द्रित भइयो ।’ कञ्चनपुरबाट माओवादी केन्द्रबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद महेशप्रसाद जोशीले पहिलो पटक सहभागी हुँदा थप जिम्मेवारी बोध भएको बताए । उनले आफ्नो प्रदेशसभामा नयाँ अनुभव भएको बताए । काँग्रेसका तर्फबाट पहिलो पटक प्रदेश सांसद बन्नुभएका टेकबहादुर रैकाले विकासका लागि एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश नं ७ लाई अगाडि बढाउन साझा मुद्दा बनाउने विषयमा सबै एकमत रहेका उनको धारणा थियो । प्रदेशसभाकी समानुपातिक सदस्य पूर्णा जोशीले पहिलो पटक संसद्को अनुभव लिन पाउँदा गौरवको अनभूति भएको बताइन् । ‘जनताको वास्तविक प्रतिनिधि हुने अवसर प्राप्त भएको छ,’ उनले भनिन्, ‘प्रदेशको स्वरुप परिर्वतन गर्ने जिम्मेवारी अब हाम्रै हो ।’ कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद तारालामा तामाङले प्रदेश नं ७ मा आफ्नो पार्टीमा विभिन्न जिम्मेवारी बहन गरिरहेका नेताले प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका बताए ।
प्रदेश नं ७ को पहिलो प्रदेशसभा बैठकमा परम्परागत थारु भेशभुषामा सजिएर सांसद चुनकुमारी चौधरी लेहँगा र चोलीमा बैठकमा सहभागी हुन आएकी थिइन् । दुई दशकसम्म बुबा÷आमा कैलालीको श्रीपुरमा साहुको घरमा कमैया बसेको बताउँदै उनले आफू पनि डेढ दशकसम्म साहुकै घरमा बसेको बताइन् । ‘बुबासँगै साहुको घरमा काममा खटिएँ, आज प्रदेशको सांसदसम्म भएँ,’ उनले भनिन् । एमालेबाट समानुपातिक सांसद भएकी चौधरीले प्रदेशको समग्र विकासका लागि आफू लागिपर्ने बताइन् ।
पहिलो पटक प्रदेशसभा बैठक धनगढीस्थित प्रदेशसभा भवनमा बस्दै गर्दा बाहिर सर्वसाधारण निकै उत्साहित देखिन्थे । संसद् बैठक नियाल्दै गरेका धनगढीका स्थानीयवासी नेत्रराज ओझाले घर आँगनमै संसद् आइपुगेको आभाष भएको बताए । ‘राज्य पुनःसंरचनाले सबैमा उत्साह ल्याएको छ,’ उनले भने । प्रदेश नं ७ को पहिलो बैठकमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य ७४ वर्षीया दिव्यश्वरी शाह र सांसद कर्णबहादुर मल्ल नाताले सासू ज्वाइँ हुन् ।
शाह काँग्रेसका तर्फबाट कैलालीबाट समानुपातिक तथा मल्ल डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । सात नं प्रदेशका नौवटा जिल्लामध्ये प्रत्यक्ष र समानुपातिक गरी सबैभन्दा बढी कैलालीबाट १७ जना प्रदेशसभा सांसद रहेका छन् । कञ्चनपुरबाट आठ, अछामबाट सात तथा डोटी, डडेल्धुरा, बझाङ र दार्चुलाबाट चार÷चार, बैतडीबाट तीन र बाजुराबाट दुईजना सांसदको प्रतिनिधित्व रहेको छ । बाजुराका दुवैजना प्रत्यक्षतर्फका सांसद हुन् । रासस

प्रकाशित मिति : २३ माघ २०७४, मंगलवार ०५:०६