बाँके । प्रदेशसभा निर्वाचनपछि प्रदेशसभाको पहिलो बैठकहरु सुरु भएका छन् । प्रदेश नं. २, ४, ५, ६ र ७ को प्रदेशसभाको पहिलो बैठक दिउँसो १ बजेदेखि सुरु भएका छन् । प्रदेश नं. ५ मा प्रदेशसभाका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा बैठक सञ्चालन भएको छ ।
पाँचवटा कार्यसूची तोकिएको बैठकमा सुरुमा सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवान सम्बन्धी पत्र पढेर सुनाएका छन् । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुले सम्बोधन गर्ने कार्यक्रम जारी रहेको छ । सबैभन्दा पहिले नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले संवोधन गरेका छन् ।
प्रदेश ५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व छ । बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पूर्व र कपिलबस्तु जिल्ला रहेको यस प्रदेशमा प्रत्यक्ष र समानुपातिक पद्धतितर्फबाट गरी ८७ सांसद रहेका छन् ।
प्रदेशसभा सदस्यहरुको सम्बोधनपछि बैठकमा सभामुखले प्रदेश ५ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भनी प्रस्ताव गर्नेछन् । उक्त प्रस्ताव आइतबार नै पारित गरेर सभामुखको निर्वाचनको मिति पनि तोक्ने तयारी रहेको छ । प्रदेश ५ को प्रदेशसभा बैठक बुटबलस्थित उद्योग वाणिज्य संघको सभाहलमा बसिरहेको छ ।
यस्तै प्रदेश नं. ६ को पहिलो बैठक सुर्खेतमा सुरु भएको छ । तोकिएको समयभन्दा ८ मिनेट ढिलो गरी डिभिजना सिचाइँको हलमा प्रदेशसभाको पहिलो बैठक सुरु भएको हो । पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गरेका छन् । यो बैठकले सभामुखको निर्वाचनको मिति तोक्नुका साथै कार्यविधि पारित गर्नेछ । प्रदेश ६ मा ४० जना प्रदेश सांसद रहेका छन् । बैठकमा महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, शोसिला शाही र एमालेबाट यामलाल कंडेल सम्बोधन गर्नेछन् ।
यसैगरी प्रदेश ७ को प्रदेशसभा बैठक करिब पौने घण्टा ढिलो गरी सुरु भएको छ । बैठकका लागि केही सांसदहरु ढिलो गरी पुगेका कारण बैठक केहीबेर ढिला हुन पगेको हो । बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्यश्वरीले शाह अध्यक्षता गरेकी छन् । संसदको पहिलो अधिवेशनको सुरुमा प्रदेश प्रमुख मोहनराज मल्लको प्रदेशसभा बैठक आह्वान सम्बन्धी सूचना ज्येष्ठ सदस्य शाहले पढेर सुनाएकी छन् । दोस्रो प्रस्तावमा अधिवेशन सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधी पास गरिने छ ।
यस्तै, अधिवेशनमा दलका तर्फबाट एक–एक जना सांसदले विशेष समय लिएर बोल्ने कार्यसूची बनेको छ । ७ नम्बर प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका २ जना प्रदेश सांसद रहेका छन् ।
यसैगरी प्रदेश २ मा प्रदेशसभाको बैठक सकिएको छ । बैठकले सभामुखको चुनाव आगामी फागुन २ गतेलाई तोकेको छ । जनकपुरधाममा सम्पन्न पहिलो प्रदेशसभा बैठकले फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको हो । प्रदेशसभाको दोस्रो बैठक भने माघ २९ गते बस्ने भएको छ ।
आइतबारको बैठकमा प्रदेशसभामा उपस्थित दलका नेताहरुले सम्बोधन गरेका थिए । बोल्ने नेताहरुले नेताहरुले प्रदेश २ लाई सम्बृद्ध बनाउनु पर्ने र मधेसमा रहेको अशिक्षा, गरिबी अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् ।
यता प्रदेश ४ को पहिलो बैठक सवा घण्टामै सकिएको छ । बैठकमा फागुन ३ गते सभामुख र ६ गते उपसभामुखको निर्वाचन मिति तय गर्ने गरी छलफलसमेत भएको छ । २२ गते नै बस्ने सर्वदलीय बैठकले त्यसको मिति तय गरेर प्रदेश सभा बैठकमा पेश गर्ने तयारी छ ।
पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख उपसभामुखको निर्वाचन हुनुपर्ने संविधानमा व्यवस्था छ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने तथा त्यसको सूचना सचिवले प्रकाशन गर्ने संवैधानिक व्यवस्था छ । संविधानअनुसार ७ गतेभित्रै सभामुख र उपसभामुख निर्वाचन गरिसक्नुपर्ने भएकाले ३ गते र ६ गतेमा निर्वाचन हुन सक्ने सांसद किरण गुरुङले बताए ।
प्रक्रिया मिलाउँदै जाने तर ३ गते सभामुख र ६ गते उपसभामुख निर्वाचनको मिति तोक्न बैठकमा प्रस्ताव गर्ने मोटामोटी सहमति भएको अर्का सांसद हरिबहादुर चुमानले बताए । निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको मितिले १ महिनाभित्र बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
प्रदेश नम्बर ४ मा माघ ३ गते अन्तिम मत परिणाम घोषणा भएकाले त्योभन्दा अगाडि नै दलले संसदीय दलको नेता तोक्ने तयारी गरेका छन् । यो प्रदेशमा पहिलो दल एमालेले मुख्यमन्त्री र तेस्रो दल माओवादीले सभामुख पाउने भागबन्डा भएको छ ।
।