सूचनाको शक्ति - The Power Of Information

        

दाङ व्यापारीक तथा पर्यटन महोत्सवको तयारी तीव्र


दाङ । दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रदर्शनी २०७४ को तयारी तीव्र पारिएको छ । दाङ उद्योग वाणिज्य संघले फागुन ३ गतेदेखि १३ गतेसम्म घोराही उपमहानगरपालिका १५ मा आयोजना गर्ने महोत्सव स्थलको निर्माण कार्य तथा स्टल बुकिङ सुरु भएको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिए ।
महोत्सवलाई सफल वनाउन गठन गरिएका विभिन्न उपसमितिहरुले आफ्ना गतिविधिहरु तीव्र पारेको साहित्य तथा प्रचारप्रसार उपसमितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव माया कुमारी पोख्रेलले जानकारी दिइन् । महोत्सवमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको सांस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक मीनराज भाटले जानकारी दिए । महोत्सव आकर्षणको पाटोजस्तै मानिने सास्कृतिक कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न उपसमितिले छलफल तथा अन्तरक्रिया गरिरहेको भाटले जानकारी दिए
महोत्सव तथा प्रर्दशनीका अवसरमा लोपोन्मुख गन्धर्वहरुको सारङगी वाधक प्रतियोगिता, प्रदेशस्तरीय लोकनृत्य प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । महोत्सवका अवसरमा आयोजना गरिने साँस्कृतिक कार्यक्रममा हाँस्यव्यंग्य, गायन, नृत्य विधाका विविध कार्यक्रम, सामाजिक अभियन्ता धुर्मुस सुन्तली, आधुनिक गायक प्रमोद खरेल, माण्डवी त्रिपाठी, शिव परियार, नेपाल आइडलका निर्णायकद्वय कालीप्रसाद रिजाल, इन्दिरा जोशी लगायतका दर्जनौ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक उपसमितिका संयोजक भाटले बताए ।

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ०२:४७