सूचनाको शक्ति - The Power Of Information

        

नवलपुर र चितवनमा दुर्घटना : दुईको मृत्यु, तीन घाइते

कावासोती । नवलपरासी जिल्ला वर्दघाट सुस्ता पूर्व नवलपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बुधबार साँझ साढे सात बजे भएको दुर्घटनामा देवचुली नगरपालिका–१५ सालघारीस्थित भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा बा ५७ प १५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । उपचारको क्रममा मृत्यु हुने चालक देवचुली १५ का ३५ बर्षिय भोजबहादुर विक रहेका छन् भने सवार देवचुली १५ का ३५ बर्षिय सन्तबहादुर राईको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी जवान जनक पन्तले जानकारी दिए ।
मोटरसाइकल इलाका प्रहरी कार्यालय दलदलेको नियन्त्रणमा रहेको छ । यस्तै बुधबार राती १ वजे मध्यविन्दू नगरपालिका–१० अरुणखोलाको दुम्कीबास जंगलमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको नम्बर नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सवारी साधनको ठक्करबाट अन्दाजी ३२ बर्षका नाम नखुलेका व्यक्तिको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
ठक्कर दिने सवारी साधन फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी जवान जनक पन्तले जानकारी दिए । यस्तै चितवन देवौलीमा बुधबार राती मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएका छन् । राती करिब ९ बजे रत्ननगर नगरपालिका–८ देवौलीमा ना ४९ प ९९९० नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् । घाइते हुनेमा इच्छाकामना बस्ने ३० बर्षिया अस्मिता मगर गम्भीर घाइते भएकी छन्
मोटरसाइकलमा सवार रत्ननगर–१४ का २६ बर्षिय सूर्य गुरुङ्ग सामान्य घाइते भएका छन् भने मोटरसाइकल चालक रत्ननगर १४ वस्ने वर्ष २८ का लक्ष्मण अधिकारी सामान्य उपचारपछि अहिले प्रहरीको नियन्त्रणमा रहेको चितवन ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी जवान विश्व नेपालले जानकारी दिए । गम्भीर घाइते अस्मिताको पुरानो मेडिकल कलेजमा र सूर्यको स्थानीय मेडिकलमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७४, बिहीबार ०६:१२