सूचनाको शक्ति - The Power Of Information

        

सिपालु मूर्तिकार टमटालाई अर्थ अभाव


कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका भम्काका मूर्तिकार प्रेम टमटासँग निखारिएको सीप छ । सीपलाई व्यवसायमा परिणत गर्नका लागि अर्थ अभाव रहेको छ । ज्यालामा काम गरी मूर्ति कोरेर आएको रकमबाट उनले ऐलानी जग्गा खरिद गरी त्यसमा पक्की घर ठड्याएका छन् ।
खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र नहुँदा उनले आफैँले पैशा खर्च गरी मूर्ति बनाएर बेच्ने वर्षौंको धोको पूरा गर्न सकेका छैनन् । ‘जग्गाको प्रमाणपत्र भए जग्गा बैंकमा राखेर मूर्ति बनाउने उद्योग सञ्चालन गर्नका लागि अत्याधुनिक मेशिन खरिद गरी कार्य अगाडि बढाउँथेँ,’ मूर्तिकार टमटाले भने, ‘रकमकै अभावमा ज्यालामा काम गर्नुपरेको छ ।’
पाँचजनाको परिवारको खर्च ज्यालामा मूर्ति बनाएर आएको रकमबाट व्यहोर्दै आएका उनले दुई दशकअघि भारतको राजस्थान प्रान्तको जयपुरमा मूर्ति बनाउने कलाकारकहाँ मजदूरी गर्दा मूर्ति बनाउने कला सिकेका हुन् । निखारिएको मूर्ति बनाउने सीप भएका उनले तामा, पित्तल, ढुंगा, माटो र सिमेन्टको प्रयोग गरी जस्तोसुकै मूर्ति पनि बनाउन सक्छन् । कैलालीको गोदावरीमा नेपालकै ठूलो हनुमानको मूर्ति उनले नै बनाएका हुन् ।
देवालयमा धार्मिक मूर्ति र महापुरुषका छ दर्जनभन्दा बढी मूर्ति बनाइसकेको टमटाले बताए । ‘गोदावरीको हनुमानको मूर्ति बनाएर नै जग्गा र घर जोड्न सकेको हुँ,’ उनले भने, ‘त्यसपछि गतिलो मूर्ति बनाउने कार्य पाउन सकेको छैन ।’ मेशिनको अभावमा हातैले उनले मूर्ति बनाउँदै आएका छन् । एक मूर्ति बनाएबापत रु २० हजारदेखि रु ५० हजारसम्म कमाइ हुने गरे पनि वर्षमा एक दुई वटा मात्रै मूर्ति बनाउनका लागि अर्डर आउने गरेको उनले बताए ।
‘मूर्ति बनाएर आएको रकमले परिवारको खाना, लुगाफाटो र बालबालिकाको विद्यालय खर्च धानिएको छ,’ उनले भने, ‘त्यसपछिको प्रगति र आर्थिक उन्नति छैन ।’ मूर्तिकार टमटा अहिले बेदकोट नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र लिंगामा शिव, पार्वती, गणेश, नन्दी र मुसोको सिमेन्टका मूर्ति बनाउनमा लागेका छन् । नगरपालिकाले केही सहयोग दिने भनेपछि मूर्ति बनाउनमा लागेको उनले बताए । नेपालमा अत्याधुनिक मूर्ति बनाउने सीप भएका थुप्रै मूर्तिकार रहेका भए पनि अझै मूर्ति र शालिक बनाउन भारतबाट महँगो ज्यालामा कलाकार झिकाउने चलन रहेको छ ।
‘त्यस कार्यलाई निरुत्साहित गर्दै नेपाली मूर्तिकारलाई मूर्ति बनाउने अवसर दिइनु पर्छ,’ टमटाले भने, ‘यस कार्यले मूर्ति बनाई पैसा कमाएर जीविका सहजरुपमा चलाउन सकिने हुन्छ ।’ मूर्तिकारलाई सरकारले स्तर निर्धारण गरी परिचयपत्र उपलब्ध गराई जीविका चलाउन सक्ने गरी काम दिनुपर्ने उनले बताए । बैंकबाट बिना धितो रकम झिकी व्यवसाय गर्न स्थानीय तहलाई नै अधिकार दिई सीपको जगेर्ना गर्नमा मद्दत पु¥याउन पनि उनले जनप्रतिनिधिलाई आग्रह गरेका छन् । मूर्ति बनाउने पेशामा यहाँका अधिकांश दलित समुदायका व्यक्तिनै संलग्न रहेकाले उनीहरुसँग बस्नका लागि गतिलो घर र घर बनाउनका लागि जग्गाको अभाव रहेको बेदकोट नगरपालिका–५ का वडाध्यक्ष गणेश विकले बताए ।
‘ती परिवारको पुनःस्थापन गरी पेशालाई मर्यादित र व्यावसायिक बनाउनका लागि अनुदान रकमको व्यवस्था गर्न अपरिहार्य रहेको छ,’ उनले भने । डडेल्धुराको अजयमेरुकोट देवल र विभिन्न ठाउँमा रहेका प्राचीन देवल र त्यसमा राखिएका मूर्ति सबै ढुंगाको मूर्ति बनाउनमा निपुण दलित समुदायका व्यक्तिले नै बनाएको विश्वास गरिएको छ । ‘मूर्ति बनाएर जीविका चलाउन नसकिने भएपछि अधिकांश पेशाबाट पलायन भए,’ विकले भने, ‘मूर्ति कोर्दै आएका थोरैको संख्यामा रहेका मूर्तिकारलाई जोगाउनका लागि समयअनुसारको मूर्ति बनाउने कलासम्बन्धी सीप सिकाउने र सीप सिकाएपछि व्यावसायिक बनाउन सहज अनुदान रकम वा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ ।’ रासस

प्रकाशित मिति : १६ माघ २०७४, मंगलवार ०४:४२