सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देहीमा चार महिनामा कुष्टरोगका ३४ जना नयाँ बिरामी


रुपन्देही । रुपन्देहीमा पछिल्लो चार महिनामा कुष्टरोगका ३४ जना नयाँ बिरामी फेला परेका छन् । ति मध्ये १३ जना महिला रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ट निरिक्षक टिकाराम अधिकारीका अनुसार कार्तिक मसान्तसम्म ३४ कुष्टरोगका नयाँ बिरामी फेला परेका हुन् । गत आर्थिक बर्ष २०७३/०७४ मा १२२ जना कुष्ट रोगका बिरामी फेला परेका थिए ।
गतबर्ष दुई जना बालबालिकाहरुमा समेत कुष्टरोग फेला परेको भए पनि पहिलो चौमासिकको कार्तिक मसान्तसम्म बालबालिकामा कुष्ट रोगको नयाँ संक्रमण फेला नपरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ । फेला परेकामध्ये भारतीय सिमा क्षेत्रका बढी रहेको जनस्वास्थ्यको तथ्याङकले देखाएको छ ।
रुपन्देही जिल्ला पनि कुष्टरोगको बढी नै जोखिम रहेको जिल्ला भएका कारण कुष्टरोग निबारण अभियान सञ्चालन गर्न लागिएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख केयरसिंह गोदारका अनुसार माघ २३ देखि २५ सम्म रुपन्देहीका १० बटा गाउपालिकामा सञ्चालन हुने अभियानमा २० जना बिज्ञ सहित झण्डै १ हजार स्वास्थ्यकर्मीहरु परिचालित हुने छन् ।
तथ्यांकका अनुसार प्रतिबर्ष नेपालमा ३ हजार बढी कुष्टरोगका नयाँ बिरामी फेला पर्ने गरेका छन् । कुष्टरोग पहिचान भएको सन १९८२ देखि अहिलेसम्म नेपालमा १ लाख ८० हजार बिरामी पत्ता लागेर उपचारबाट निको भएका छन् । ति मध्ये ३० हजार बढी कुष्टरोगका कारण हुने अपाङगता भएका व्यक्तिहरु रहेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७४, आइतवार ०९:१४