सूचनाको शक्ति - The Power Of Information

        

महिनावारी रोकिँदा समस्यै समस्या


रेनुका गिरी । रुपन्देही । तिलोत्तमा नगरपालिका शंकरनगरकी तिलकुमारी खड्का ५८ वर्षकी भइन् । उनलाई महिनावारीको कुनै समस्या छैन अर्थात् उनी महिनावारी हुँदिनन् । प्राकृतिकरुपले उनको महिनावारी सुकेको भने होइन । १९ वर्ष पहिला अर्थात् ३९ वर्षको उमेरमा पाठेघरमा समस्याले पाठेघरको शल्यक्रिया गरेपछि उनको महिनावारी सुकेको हो । उनलाई अहिले ढाडको समस्या छ । उनी कुनै पनि काम सहज रुपमा गर्न सक्तिनन् । हरेक निहुँरिएर गर्ने काम उनलाई अप्ठेरो हुन्छ अर्थात् ढाड दुख्छ । कामै नगर्दा पनि उनलाई ढाड दुख्छ ।
उनी भन्छिन्, ‘राम्ररी बस्न सक्तिनन् । राम्ररी उठ्न सक्तिनन् । हरेक महिना जस्तो अस्पताल धाइरहनु पर्दछ ।’ महिनावारी नहुँदा सजिलो भएको र बार्ने झन्झट नभएकोमा भने खुसी लागेको उनको भनाई छ । चिकित्सकहरुका भनाइमा समय नपुग्दै महिनावारी सुक्नु पनि रोग हो । तिलोत्तमाकै सरस्वती गिरीको अवस्था पनि उस्तै छ । भाडाँ माझ्दा होस् वा घाँस काटदा होस् उनी सामान्यरुपमा बस्न सक्दिनन् । उनी घुँडा टेकेर मात्र काम गर्छिन् । उनले पनि ढाडको समस्याले गर्दा यस्तो समस्या भोग्नु परेको हो ।
उनी भन्छिन्, ‘२८ वर्षको उमेरमा पाठेघरमा समस्या आएपछि पाठेघरको शल्यक्रिया गरेकी हुँ अहिले ४९ वर्षकी भएँ ।’ महिनावारी अर्थात् रजस्वला महिलाहरुमा हुने एउटा प्राकृतिक प्रक्रिया हो । यो सामान्यतया १२–१३ वर्षपछि सुरु हुन्छ र करिव ५० वर्ष पुगेपछि बन्द हुन्छ । महिनावारी सुकेको अवस्थालाई मेनोपाज भनिन्छ । डाक्टरका अनुसार उनी दुवैजनालाई अस्टियोपोरोसिसको समस्या हो । युनिभर्सल मेडिकल कलेज भैरहवाका हाड तथा जोर्नी सम्बन्धी डा.आलोक पाण्डेका अनुसार, अस्टियोपोरोसिस हाडमा देखीने रोग हो ।
उनी भन्छन्, ‘अस्टियो भनेको हाड हो भने पोरस भनेको हाडको घनत्व कम हुन गएर कमजोर हुनु हो । त्यसकारण हाडमा देखीने कमजोरी अर्थात सामान्य अवस्थामा रहेको हड्डीको भित्री बनोटमा ठुला छिद्रहरु हुने समस्या नै अस्टियोपोरोसिस हो । सुक्ष्म रुपमा हड्डी नास हुने वा कमजोर हुँदै जाने समस्यालाई नै अस्टियोपोरोसिस भनिन्छ ।’ युनिभर्सल मेडिकल कलेज भैरहवाका हाड तथा जोर्नी सम्बन्धी अर्का डा.राजीव बरालका अनुसार ५० वर्षमाथिका अधिकांश मानिसहरुमा यो समस्या देखिने गर्दछ । जति मानिसको उमेर बढ्दै गयो त्यति नै यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।
उनी भन्छन्, ‘मानिसको उमेर १६ देखि १९ वर्षको हुँदासम्म हाडको आकार र उचाईमा विकास हुन्छ । त्यस्तै २० देखि ३५ वर्षसम्म हाडको घनत्व बढने र बलियो हुने हुन्छ । ३५ वर्षको उमेरमा हाडको उच्चतम घनत्व विकसित हुन्छ । यहि उमेरमा सर्वसाधारण मानिसले पीक बोन मास बढाउन सकेमा भविश्यमा आइपर्ने अस्टियोपोरोसिस समस्या बाट बच्न सकिन्छ । पीक बोन मास बढाउन यहि उमेरमा पोसिलो खानेकुरा खाने, निरोगी रहने तथा शारीरिक ब्यायाम गर्नुपर्छ ।’
हाड तथा जोर्नी सम्बन्धी अर्का डा.जी.पी सिंहका अनुसार अस्टियोपोरोसिस प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्रइमरी अस्टियापोरोसिस पनि टाइप वान र टाइप टु गरी दुई प्रकारका हुन्छन् । टाईप वान अस्टियोपोरोसिस विशेषगरी महिलाको महिनावारी बन्द भएपछि हुन्छ । यसको कारण महिलामा एस्ट्रोजेन नामक हर्मोनको महिनावारी बन्द अवस्थामा एक्कासी गिरावट हुनु हो । महिनावारी सुकेपछि एस्ट्रोजेन हार्मोन कम हुन्छ । एस्ट्रोजेन हार्मोनको कमीले विभिन्न किसिमको असर देखिन्छ । टाइप टु भनेको सिनाइल अस्टियोपोरोसिस हो । यो बृद्घाअवस्था भएपछि हुने गर्छ । सेकेन्डरी स्टियोपोरोसिस चाहीं औषधिको नकारात्मक असरका कारण तथा अन्य रोगका कारण हुने गर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ५० वर्ष उमेर नाघेका महिलाहरुमा तीन जनामध्ये एक जनामा र ५० नाघेका पुरुषमा १२ जनामध्ये एक जनामा यो रोग लागेको पाइएको छ । नेपालमा यो रोग कतिमा लागेको छ भन्ने यकिन तथ्याङ्क छैन । महिनावारी सुकिसकेपछि महिलाहरुमा हड्डी खिइने समस्या पुरुषको भन्दा चार गुणले बढी हुन्छ । महिनावारी सुकेको २ वर्षमा हड्डीको घनत्व ३ देखि ५ प्रतिशतले घट्छ । महिनावारी सुकेका महिलाहरुमा हड्डी भाँचिने सम्भावना बढी हुन्छ । ५० वर्ष पार गरेका महिलामा प्रत्येक ७–८ वर्षमा दोब्बर संख्यामा हड्डी फ्याक्चर भएको तथ्य अध्ययनले देखाएको छ ।
८० प्रतिशत कम्मरको फ्याक्चर महिलामा मात्र पाइन्छ । ५५ वर्ष पार गरिसकेका महिलामा यस्तो फ्याक्चर हुने सम्भावना ४० गुणाले बढ्छ । डा.आलोक पाण्डे भन्छन्, ‘अस्टियोपोरोसिस रोगको खासै लक्षण देखिदैन । यसलाई साइलेन्ट रोग पनि भनिन्छ । हड्डीमा अस्टियोपोरोसिसको समस्या भए नभएको हेर्न तथा हड्डीको घनत्व अर्थात बलियोपना थाहा पाउन अहिले डेक्सा स्क्यान गरिन्छ ।’ डेक्सा स्क्यान गर्दा मानिसलाई कुनैपनि नकारात्मक विकिरणको असर हुँदैन ।
यसले मानिसको सम्पुण शरिरको स्कयान गरेर हड्डीको अवस्थाका बारेमा जानकारी दिन्छ । यसका साथै अस्टियोपोरोसिस भैसकेपछि चिकित्सकको सल्लाहमा अस्टियोपोरोसिसको अवस्था हेरेर औषधि सेवन गर्नु नै यसबाट जोगिने उपाय हो । अस्टियोपोरोसिसलाई समयमानै उपचार गर्न सकिन्छ । शुरुमानै सावधानी अपनाएमा भविष्यमा हुने जटिलताबाट बच्न सकिन्छ र धेरै समय, सम्पत्तिको बर्बादीबाट जोगिन सकिने चिकित्सकहरुको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०७४, आइतवार ०७:१७