सूचनाको शक्ति - The Power Of Information

        

कैदीका छोराछोरीलाई ‘सुरक्षित घर’


सुर्खेत । बन्दना नेपाली साढे ४ वर्षकी थिइन्, जब उनका बाबुले जन्मकैद सजायँ पाए । अपराधको सजायँ भोग्न बाबु जेल चलान भए । बाबु जेल पर्दा उनी भर्खर कक्षा एकमा भर्ना भएकी थिइन् । तर, विद्यालयमा उनी भन्दा ठूलाहरुले ‘अपराधीकी छोरी’ भन्दै जिस्काउन थाले । एकातिर घरमा खान लाउन दुःख थियो, अर्कोतिर साथीभाइले जिस्काउन थालेपछि बन्दना स्कुल जान छोडिन् । तर, अब भने बन्दनाको भविष्यको ढोका खुलेको छ ।
उनलाई सुर्खेतमा रहेको सुरक्षित घर नेपालले जिम्मा लिएको छ । अहिले उनी मध्यपश्चिम स्कुलमा कक्षा दुईमा अध्ययनरत छिन् । उनको लालनपालन र कक्षा १२ सम्म अध्ययनको खर्च सबै संस्थाले व्यहोर्ने छ । बन्दना मात्रै होइन, समाजले छिछि र दुरदूर गरेका करिब एक दर्जन बालबालिकाको भविश्यको जिम्मा सुरक्षित घर नेपालले लिएको छ । २७ वर्षे युवाले सञ्चालन गरेको बालगृहमा अहिले तीन जना बालिका र ७ जना बालक गरी १० जना बालबालिकाले आश्रय लिएका छन् । उनीहरुले बसेर माध्यामिक शिक्षासम्म अध्ययन गर्न पाउने भएका छन् ।
बाबुआमाले गरेको अपराधको सजायँ अवोध बालबालिकाहरुले पाउनुहुन्न भन्ने सोंचसहित बालबालिकाहरुलाई आश्रय दिएको सञ्चालक सागर भारतीले बताए । ‘उनीहरुले पनि अरु जस्तै बाँच्न पाउनुपर्छ, पढ्न–लेख्न पाउनुपर्छ, भनेर आश्रय दिएका हौं,’ उनले भने । संस्थाको आश्रय पाएका १० जना बालबालिकाहरु सबै जन्मकैद भुक्तानी गरिरहेका बाबु वा आमाका सन्तान हुन् । बाबु वा आमा जेल चलान भएपछि पढ्नबाट वञ्चित भएका, समाजबाट समेत तिरस्कृत भएका अतिविपन्न अवस्थाका बालबालिकाहरुलाई संस्थाले संरक्षणको जिम्मा लिएको भारतीले बताए ।
नेपालमा अन्य बालगृह धेरै भए पनि कैदीबन्दीका अलपत्र परेका नाबालक सन्तानलाई आश्रय दिने बालगृह कमै भएकाले स्थापना गरेको उनको भनाइ छ । संस्थाले प्रदेश ५, ६ र ७ का बालबालिकाहरुलाई प्राथमिकतामा राखेको छ । जिल्ला कारागारका अनुसार प्रदेश ६ मा मात्र यस्ता बालबालिकाहरु १५० को संख्यामा छन् । तर, कारागारले संस्थाका लागि १४ जनाको मात्र अनुमति दिएको सञ्चालक भारतीले बताए ।

शिक्षा र खर्च व्यवस्थापन
आश्रयमा रहेका बालबालिकाहरु अहिले वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका छन् । १० जना बालबालिकालाई पढाउनु पर्ने भएकाले ४० प्रतिशत शुल्क लिएर ६० प्रतिशत शुल्क बोर्डिङले मिनाहा गरिदिएको छ । नयाँ शैक्षिक सत्रबाट भने अन्य स्कुलमा तीन÷तीन जना बाँडिने छ । ‘क’ वर्गको इगरव्रिज बोर्डिङ स्कुल र सेडा लगायतका स्कुलमा उनीहरुलाई भर्ना गरिने संस्थाले जनाएको छ ।
नयाँ शैक्षिक सत्रबाट स्कुलले शुल्क नलिने सहमति भएको छ । बालबालिकाहरुलाई कक्षा १२ सम्म यसरी नै समन्वय गरेर अध्ययनको व्यवस्था संस्थाले मिलाएको छ । सञ्चालक भारतीले हाल एक वर्षसम्म सम्पूर्ण खर्च व्यवस्थापन व्यक्तिगत रुपमै गरेको बताए । बालबालिकाहरु हुर्किदै गएसँगै आश्रय र पढाई खर्च बढेकाले दाताहरुको समेत खोजि गरिरहेको उनको भनाइ छ । संस्थालाई पारदर्शी बनाउनका लागि प्रत्यक्ष रकम नलिएर कुनै एक बालबालिकाको विद्यालय खर्च वा आश्रय खर्चको बिल तिरिदिने दातालाई प्राथमिकता दिने पनि उनले बताए ।

यसरी जन्मियो ‘सुरक्षित घर’
०७१ सालमा हरिराम भारती (सागर) धन कमाउन रसिया लागे । तर, रसियाको डोमोडेडोभ अन्तर्राष्ट्रिय विमानस्थलले नै उनलाई बदलिदियो । त्यहाँ ८÷१० जना फोहोरी बालबालिकाको फोटो राखेको बोर्डमा नेपाल लेखिएको थियो । सागरले भने, ‘विदेशमा नेपाललाई यसरी चिनाइएको रैछ भन्ने लागेर यस्ता बालबालिकाहरुको संरक्षण गर्ने भन्ने योजना बनाएँ ।’
उनले अघि भने, ‘जब त्यो तस्वीर देखेँ, मलाई आफू बाँचेर मात्रै हुँदो रहेनछ, सबैले बाँच्नुपर्छ, लेख्न र पढ्न पाउनुपर्छ भन्ने लाग्यो । त्यसपछि छिट्टै फर्केर बालबालिकाको संरक्षणका लागि जुटेँ ।’ पोल्याण्डबाट ९ महिनामै राम्रै काम छोडेर फर्केका भारतीले ०७२ मै संस्था दर्ता गरेका हुन् । सबै प्रक्रिया पूरा भएपछि ०७४ बाट बालबालिकालाई आश्रय दिइएको उनले बताए ।

प्रकाशित मिति : १३ माघ २०७४, शनिबार १०:३९