सूचनाको शक्ति - The Power Of Information

        

घरेलु उद्योगमा महिला आकर्षण बढ्दो


रेनुका गिरी । रुपन्देही । नेपाली समाजमा अझै पनि स्वरोजगार हुने महिलाको संख्या धेरै छैन । केहि वर्षयता भनें आफ्नै ठाउँमा उद्योग चलाएर स्वरोजगार हुने र छरछिमेकीलाई कामसमेत दिनसक्ने महिला बढेका छन् । महिलाहरु स्वयम् उद्यमी बन्ने र उद्योग संचालन गर्ने क्रम बढ्दो छ । उद्योगहरुमा कामदारको रुपमा पनि महिला आकर्षण बढ्दो छ । कसैले व्यक्तिगत उद्योग र व्यवसाय चलाएका छन् । कतिले सामुहिक रुपमै काम थालेका छन् ।
सरल मानिने पेशा व्युटीपार्लर र सिलाई कटाई पेशा व्यवसायमा सिमित नभई महिलाहरुले हस्तकला एवं अन्य उद्योगहरु संचालन गरेका छन् । विदेश निर्यात हुने सामान समेत महिलाहरुले संचालन गरेका छन् । तिलोतमा नगरपालिकाकी रेनुका खरेल साबियो स्टेशनरी उद्योगकी सञ्चालिका त्यस्तै महिला हुन् । उनले नेपाली कागजबाट बन्ने सामानहरु उत्पादन गर्छिन् । श्रीमान् परमान्नद खरेलको निधनपछि साबियो उद्योग सकुशल संचालन गरेको आधा दशक भएको छ ।
रुपन्देही उद्योग संघमा कार्यसमिति सदस्यसमेत रहेकी उनले २०७३ सालको राष्ट्रिय उत्कृष्ट महिला उद्यमीहरु मध्ये सफल उद्यमी महिलाबाट पुरस्कृत समेत भइन् । उनको सावियो ब्रान्डका उत्पादीत समानहरु देशका विभिन्न स्थानमा पुगेका छन् । स्टेशनरीको बजारमा उनको सामानले प्राथमीकता पाएको छ । उद्योगमा नेपाली कागजबाट रजिष्टर, विभिन्न साईज एवं गुणस्तरका फाइल, चिठीपत्रका खाम, प्रमाणपत्र, कार्ड, नेपाली कागजका गिफ्ट आईटमलगायत उत्पादन हुने गर्दछन् ।
उक्त सामानहरु उत्पादनको काममा उनको उद्योगमा २५ जना कर्मचारीहरुमा २० जना त महिला मात्रैले रोजगारी पाएका छन् । बुटवल ट्राफिक चोकमा रहेको रुट हेयर एण्ड ब्युटी शैलुनकी कल्पना गिरीले पनि ब्युटिपार्लर खोलेसंगै आफुमात्र आत्म निर्भर भएकी छैनन् । करिव एक सय जनालाई सिकाएर स्वरोजगार हुन उन्मुख गराएकी छिन् । २०६१ सालबाट शंकरनगर चोकमा सोनिक ब्युटिपार्लरबाट ब्यवसाय सुरु गरेकी उनले ब्यवसाय बिस्तारसँगै अहिले बुटवलको ट्राफिक चोकमा रुट हेयर एण्ड ब्युटी शैलुन खोलेकी हुन् ।
उनलाई पार्लर ब्यवसायमा श्रीमान्ले समेत सहयोग गर्दै आएका छन् । महिला ब्यवसायको समाजमा बढ्दो सकारात्मक सन्देशसंगै ब्युटीपार्लर जानेहरुको संख्यामा पनि वृद्धी हुन थालेको हो । रुपन्देहीका बजारदेखि गाउसम्म रहेका व्युटीपार्लरहरूमा ग्राहकको निकै आकर्षण बढेको छ । सुरुका दिनमा व्यवसाय सञ्चालन गर्न कठिन भएपछि पछिल्ला समय निकै सजिलो भएको व्यवसायीहरू बताउँछन् । घरायसी कामसंगै गर्न सकिने भएकाले व्युटीपार्लर व्यवसाय महिलाहरूका लागि स्वरोजगारका साथै आयआर्जनको राम्रो माध्यम बनेको छ ।
महिलामा मात्र नभएर व्युटीपार्लन जाने पुरुषहरुको संख्या पनि बढीरहेको छ । रुपन्देहीमा दर्ता भएका करिब साढे ८ हजार घरेलु उद्योगमध्ये झण्डै दुई हजार उद्योग महिलाले चलाइरहेको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको तथ्यांक छ । महिलाले चलाउने उद्योगको संख्या बढ्दै गएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बताए । महिलाले चलाएका उद्योग राम्रै फाइदामा पनि छन् । ‘पुरुषभन्दा महिला इमान्दार र लगनशील भई उद्योगमा ध्यान दिन्छन् । त्यसैले महिलाको हातका उद्योग राम्रो अवस्थामा छन्,’ उनले भने । सरकारले उर्जा संकट अन्त्य गर्ने र उद्योगमैत्री वातावरण बनाउने हो भने निर्यातजन्य सामान उत्पादन बढ्ने उनको भनाई छ ।
मैनबत्ती, अगरबत्ती, भुजा उद्योग, मसला, सिलाई, ब्युटीपार्लर, बुटिक, कडाई उद्योग सञ्चालन गर्नेहरुमा बढी महिलाहरु छन् । घरभित्रै उद्योग सञ्चालन गर्न सकिने भएकाले तराई मधेसका महिलाहरु पनि चासो दिएर यस्ता उद्योगप्रति वढी आकर्षीत भएका छन । बजारको माग हेरेर उत्पादन गर्दा लगानी डुब्ने होइन, आम्दानी दोब्बर हुने गरेको महिला उद्यमीहरु बताउँछन् । महिलाले चलाएका उद्योगलाई बजारीकरणमा भने अझै असहजता छ । उद्योगी महिलाहरु भन्छन्, ‘महिलाले चलाएका उद्योगले सामान पु¥याउन सक्दैनन् भन्ने भ्रममा बिक्रेताहरु हुन्छन् । त्यसलाई चिर्नका लागि ठूलो लगानीका उद्योगहरु महिलाले चलाउन आवश्यक छ ।’

प्रकाशित मिति : १३ माघ २०७४, शनिबार ०९:१०