सूचनाको शक्ति - The Power Of Information

        

दाङ व्यापारिक महोत्सव प्रचारप्रसार उपसमिति विस्तार


दाङ । दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरिय औद्योगिक कृषि मेला २०७४ को तयारीका लागि दाङ उद्योग वाणिज्य संघले प्रचारप्रसार उपसमिति विस्तार गरेको छ । साहित्य तथा प्रसारप्रसार उपसमितिका संयोजक माया कुमारी पोख्रेलको अध्यक्षता एवं मुल समितिका सहसंयोजक नरेश कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले १५ सदस्यीय प्रसारप्रसार उपसमिति गठन गरेको छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाह उपसंयोजक रहेको प्रसारप्रसार उपसमिति यसपटक पत्रकार महिलाहरुको सहभागीतामा विस्तार गरिएको छ । उपसमितिका अन्य सदस्यहरुमा गोरक्ष राष्ट्रिय दैनिकबाट सुलोचना गौतम, नयाँ युगबोध राष्ट्रिय दैनिकका लक्ष्मी आचार्य, रेडियो स्वर्गद्वारीबाट पार्वती बस्नेत, रेडियो मध्यपश्चिमबाट बिमला घर्ती, रेडियो ईन्द्रेणीवाट सविता चौधरी, रेडियो तुलसीपुरका शर्मीला डिसी र राप्ती पोष्ट दैनिकका बिनु दाहाल रहेका छन् ।
त्यसैगरी समितिमा एसटिएन टेलिभिजनका निरला अर्याल गैरे, सैघाली खबर अनलाइनका समिक्षा गाहा मगर, लौह्वा अग्रासनका सरिता चौधरी, रेडियो मध्यपश्चिमका सुशीला आचार्य, दैनिकपत्रका सपना बोहरा, अस्मीता चौधरी लगायत सदस्य रहेका छन् । बैठकले जिल्लामा रहेका सबै सञ्चार माध्यमहरुलाई प्रचारप्रसार उपसमितिको सदस्यमा राख्ने निर्णय गरेको प्रचारप्रसार उपसमितिका संयोजक माया कुमारी पोख्रेलले जानकारी दिएकी छन् ।
दाङ उद्योग वाणिज्य संघले जिल्लामा चौथो पटक महोत्सवको आयोजना गर्न थालेको हो । मेलाले स्थानीय तहमा उत्पादित भएका बस्तुलाई बिशेष प्राथमिकता दिने र लुकेर रहेका स्थानीय प्रतिभाहरुलाई पनि उजागर गर्नुका साथै दाङलाई औद्योगिक क्षेत्र घोषणा गर्ने उद्देष्यका साथ दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरिय औद्योगिक कृषि मेला आयोजना गरिएको हो ।
आगामी फागुन ३ गतेदेखि १३ गतेसम्म घोराहीमा सञ्चालन हुने महोत्सवलाई पारिवारिक महोत्सवका रुपमा सम्पन्न गर्न दाङ उद्योग वाणिज्य संघ प्रतिवद्ध रहेको बताउँदै महिला संवेदनशीलतालाई समेत ख्याल गरिने मुल आयोजक समितिका सहसंयोजक नरेश कार्कीले बताए । महोत्सवमा २१० वटासम्म स्टलहरु राखिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७४, शनिबार ०७:०६