सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ६ को पहिलो प्रदेशसभा बैठक अलमलमा


डिलप्रसाद शर्मा । सुर्खेत । प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक आह्वानमा अलमल देखिएको छ । प्रदेश प्रमुखले पदभार सम्हालेको एक हप्ता बितिसक्दा पनि प्रदेशसभा बैठकको मिति तय भएको छैन । कर्मचारी अभाव, भौतिक संरचनाको अभावका कारण प्रदेश ६ मा भने कहिले प्रदेशसभा बैठक बस्ने भन्नेबारे अलमल देखिएको हो ।
अन्य प्रदेशमा प्रदेशसभा बैठक आह्वान भए पनि ६ नम्बर प्रदेशमा आन्यौलता कायमै छ । प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेसभाको पहिलो बैठक बसिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार माघ २७ गतेभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्नेछ । तर कर्मचारी अभावका कारण प्रदेशसभा बैठक आहृवानमै अलमल देखिएको छ ।
प्रदेशसभा सदस्यले शपथ लिएको ६ दिन बितिसक्दासमेत प्रदेशसभा बैठक आह्वान गर्ने कुनै सुरसार देखिएको छैन । प्रदेशसभा सदस्यले सपथ लिएसँगै पटक–पटक भएका औपचारिक छलफलबाट समेत भए पनि प्रदेशसभा बैठकबारे निर्णय हुन नसकेको ६ नम्बर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले बताए । संसद सचिवालयबाट प्रदेशसभाको लागि खटाइएका कर्मचारी नआइपुगेका कारण बैठक आह्वान गर्न नसकिएको उनले बताए ।
‘संसद सचिवालयबाट खटाइएको कर्मचारी आइपुगेका छैनन्,’ प्रदेश प्रमुख खनालले भने, ‘कर्मचारीलाई कुरेर बसेका छौं । अबको केही दिनभित्र प्रदेशसभाको वैठक बोलाउछौं ।’ उनले यहि माघ २१ गते भित्रै प्रदेशसभा वैठक बसाल्ने गरी काम अगाडि बढाएको बताए । प्रदेशसभा वैठकबारे अलमल हुँदा प्रदेशका सभामुख, उपसभामुख, मुख्यमन्त्री निर्वाचनबारे समेत अलमल कायम छ । पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । तर प्रदेश प्रमुख भने संघीय संसदमा काम गरेका कर्मचारी पर्खिरहेका छन्, जसले अरु कर्मचारीलाई प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ११:३०