सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय भवन मर्मत नहुँदा खुला चौरमा पढाई


सल्यान । सल्यानको एक विद्यालयमा विद्यालय भवन भत्किएको ६ महिनासम्म मर्मत नहुँदा विद्यार्थीहरु खुला चौरमा पढ्दै आएका छन् । कुमाख गाउँपालिका–७ स्यानीजिमालीमा रहेको जनता आधारभूत विद्यालयको भत्किएको भवन मर्मत हुन नसकेपछि समस्या भएको हो । गएको साउनमा विद्यालयको चारकोठे भवन भत्किएपछि ६ महिनादेखि विद्यार्थीहरु खुला चौरमा बस्न बाध्य छन् ।
वालकक्षादेखि कक्षा ६ सम्म संचालन भएको विद्यालयमा चारवटा कक्षाकोठाको अभाव छ । ‘भत्किएको भवन मर्मतको लागि जिल्ला शिक्षा कार्यालय हुदै विभिन्न सरोकारवालासँग अनुरोध गर्यौँ’ विद्यालयका प्रधानाध्यापक जनकराज डिसीले भने, ‘तर कहीँकतैबाट पनि सहयोग प्राप्त भएन ।’ गएको साउनमा वर्षाका कारण विद्यालयको चारकोठे भवन भत्किएको थियो ।
भवन नहुँदा विद्यार्थीहरुले निकै सास्ती झेल्नुपरेको डिसीले बताए । ‘पानी परेको बेलामा दुई तीनवटा कक्षा एकै ठाउँमा राखेर पठाउँछौँ,’ प्रधानाध्यापक डिसिले भने, ‘कि त विद्यालय नै बन्द गर्छौँ ।’ भवन मर्मतका लागि सहयोग आएमा आफूहरुले आवश्यकता अनुसार श्रमदान गर्न तयार रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अकवर बोहराले बताए । बोहराले भने, ‘कसैले विद्यालयको मर्मतका सहयोग गरेको खण्डमा हामीले गर्न सक्ने सवै काम श्रमदानबाटै गर्न सक्छौँ ।’
माथिल्लो कक्षा पढाइ हुने अर्को विद्यालय टाढा भएकोले विद्यालयले आगामी शैक्षिक वर्षदेखि कक्षा ७ समेत संचालन गर्ने योजनामा छ । तर भवन नहुदा त्यस योजनामा समेत असर परेको बोहराले बताए । भवन नहुँदा प्रयाप्त मात्रामा शैक्षिक सामाग्री प्रयोग गरेर सिकाउन नसकिएको प्रधानाध्यापक डिसीले बताए । उनले भने, ‘खुल्ला चौरमा पढाउँदा विद्यार्थीको ध्यान विकेन्द्रित हुने भएकोले समस्या परेको छ ।’

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ०९:४९