बाँके । ६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भ पारेर आयत र निर्यातका क्रममा सबैभन्दा बढी भन्सार राजश्व बुझाउने फर्म तथा व्यक्तिलाई सम्मान गरिएको छ । नेपालगन्ज भन्सार कार्यालयले एक कार्यक्रमको आयोजना गरी निकासीमार्फत सबैभन्दा बढी भन्सार बुझाउने गंगा रोजिन एण्ड टर्पेनटाइन, सिजी बायोटिक प्रालि, बंगलामुखी रोजिन एण्ड टर्पेनटाइनलाई सम्मान गरेको हो ।
त्यसैगरी आयातमार्फत सबैभन्दा बढी भन्सार राजश्व बुझाउने नेपाल आयल निगम क्षेत्रीय कार्यालय, नेपालगन्ज, सौरभ अटो इन्टरप्राइजेज, वर्षा रिसाइक्लिन इन्टरप्राइजेजलाई पनि दिवसका अवसरमा सम्मान गरियो । त्यस्तै भन्सार कार्यालय, नेपालगन्जमा कार्यरत कर्मचारी नेत्रबहादुर गुरुङलाई असल कर्मचारीका रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले देशको अर्थतन्त्रको झण्डै ५० प्रतिशत राजश्व संकलन गर्ने भन्सारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले नेपाल शून्य भन्सारमा जान अझै करीब ३ दशक लाग्ने भन्दै भन्सारलाई समय सान्र्दिभ बनाइनु पर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले आयातभन्दा निर्यातमुखी व्यापारमा जोड दिए ।
नेपालगन्ज भन्सार प्रमुख जनार्दन आचार्यको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा ९ प्रतिशत बढी राजश्व संकलन गरेको जानकारी दिइएको थियो । दिवसको अवसर पारेर आयोजना गरेका विभिन्न खेलमा विजेतालाई पनि उक्त अवसरमा मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
।