सूचनाको शक्ति - The Power Of Information

        

बोल्न र सुन्न नसके पनि आम्दानी चार लाख !


पाल्पा । रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न सक्दैनन् तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन । शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् ।
उनले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आएका छन् । उनी तरकारी व्यवसायबाट जिल्लामै अगुवा कृषकका रुपमा चिनिन्छन् । डोटेलको कृषि पेशाप्रतिको मेहनत, लगाव र लगनशीलता आश्चर्यचकित पार्ने खालको छ । डोटेलले तरकारी लगाएर छोराछोरीको पढाइ खर्च र घरायसी खर्च चलाउने गरेका छन् ।
तरकारी खेतीका अलवा अहिले उनले तीनवटा दुहुना भैँसी, ५०० कुखुरा र नौवटा बाख्रा पाल्दै आएका छन् । डोटेलले अहिले दैनिक २० लिटर दूध बिक्री गर्छन् । उनले वार्षिक रु चार लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । साढे दुई वर्षको उमेरमा मेनेन्जाइटिस रोगबाट ग्रसित डोटेलले विभिन्न ठाउँमा उपचार गरे पनि निको नहुँदा जीवनभर सुन्ने र बोल्ने क्षमता गुमाएका हुन् ।
छोराको व्यवसायबाट आमा भगवती निकै खुशी छन् । ‘छजना सन्तानमध्ये एउटा छोरो मानसिक रुपमा अशक्त भए पनि उसको व्यवसायले मनमा हौसला बढ्दै गएको छ’, भगवतीले भनिन्, ‘सानोमा मज्जाले बोल्ने सुन्ने छोरो रोग लागेर जीवनभर सुन्न र बोल्न नसक्ने भए पनि काम, मेहनत र लगनशीलता देख्दा निकै खुशी लागेको छ ।’
शशिराज तरकारीको बिरुवा उमार्न, बेर्ना लगाउन, गोडमेल, रेखदेख, उत्पादनदेखि बिक्री गर्नका लागि आफैँ मोटरसाइकल चलाएर बजार पुग्छन् । कक्षा ८ सम्मको शिक्षा लिएका उनलाई श्रीमती दुर्गाले साथ दिँदै आएकी छन् । बैंकिङ कारोबारदेखि घरायसी व्यवहार उनी आफैँले गर्दै आएकी छन् । ‘सुन्न र बोल्न नसक्ने भए पनि काम र लगनशीलता सवलाङ्ग व्यक्तिको भन्दा कम छैन,’ उनले भनिन् ।
शशिराजले सामुदायिक कृषि सहायक तीन महिने तालीम पूरा गरेका छन् । यसले व्यवसाय गर्न सजिलो भएको छ । उनको व्यवसाय प्रशंसायोग्य मात्र नभई सबैका माझ नमूना बनेको छ । मान्छेले भित्री मनदेखि नै इच्छा शक्ति देखाएर काम ग¥यो भने व्यवसायमा सफल भइन्छ भन्ने उदाहरणीय पात्र शशिराज बनेका छन् । रासस

प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार १०:२९