सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डले भने, ‘सके राजधानी, नसके मन्त्रालय’


बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगन्जमा प्रदेश ५ को राजधानी हुनुपर्छ भन्ने बाँकेबासीको माग शीर्ष नेतृत्वसमक्ष राख्ने आश्वासन दिएका छन् । तर, उनले राजधानीबारे फरक धारणा रहेको बताए ।
राजधानी जहाँ भए पनि मन्त्रालय र ठूला कार्यालय विभिन्न ठाउँमा राख्नुपर्ने भन्दै नेपालगन्जमा प्रादेशिक महोत्सवको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘भोलि नेपालगन्ज नै राजधानी भयो भने पनि सबै कार्यालय नेपालगन्जमा हुनुहुँदैन । समानुपातिक वितरण हुनुपर्छ ।’
अहिले तोकिएको मुकाम अस्थायी मात्र भएको र प्रदेशसभाले स्थायी राजधानी तोक्ने भन्दै उनले यदि नेपालगन्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यालय राख्न पहल गर्ने बताए । प्रचण्डले भने, ‘राजधानी नहुनासाथ कार्यालयहरु सार्ने कामको म विरोध गर्छु ।’
महोत्सव उद्घाटन गर्न नेपालगन्ज आइपुगेका प्रचण्डसामू राजधानीको माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो । महोत्सव उद्घाटन कार्यक्रममा प्रदेश सांसदसहितका वक्ताहरुले नेपालगन्जलाई प्रदेश राजधानी बनाउनुपर्ने माग गरेका थिए । साथै बुटवललाई अस्थायी मुकाम तोक्नासाथ नेपालगन्जमा रहेका कार्यालयहरु सार्न खोजिएको भन्दै त्यसो भए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको मूख्य आयोजनामा आजबाट नेपालगन्जमा सुरु भएको प्रथम प्रादेशिक महोत्सवमा महोत्सवमा २६० वटा व्यवसायिक, ५ कृषि, ४ जडिबुटी, १४ अटोमोवाइल, २२
रेष्टुरेण्ट र १६ विदेशी स्टल गरी जम्मा ३२१ स्टल राखिएको छ । नेपालगन्जको सडक विभाग परिसरमा २२ गतेसम्म सञ्चालन हुने महोत्सवलाई यस क्षेत्रको आर्थिक समृद्धिका रुपमा हेरिएको छ ।
महोत्सवमा पाकिस्तान, बंगलादेश, चीन, भारत लगायतका देशका लागि १६ वटा स्टलसमेत राखिएको छ । कृषि, जडिबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग, व्यापारको पवद्र्धन र रोजगारी, प्रादेशिक महोत्सवको चिनारी भन्ने मूल नारा बोकेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघ आयोजक र साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना, सहआयोजक रहेका छन् । महोत्सवको २४ घण्टा सिसी टिभी जडान गरी निगरानी गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार १०:१२