सूचनाको शक्ति - The Power Of Information

        

बाघ गणना गर्न राखिएका अत्याधुनिक क्यामेरा गायब

फाइल तस्बिर

फाइल तस्बिर


चितवन । चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिका क्यामेरा हराएका छन् । बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु हराएका हुन् । कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्तीले झिकेर फुटाउने गरेको तथा कतिपय क्यामेरा बाघले समेत लगेको पाइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
‘कतिपय मानिसले के रहेछ भनेर नयाँ देखेर लाने गरेको पाइयो, कतिपय तस्करले पनि लगेको आशंका छ,’ अर्यालले भने । पर्सा क्षेत्रको पहिलो ब्लकमा ३४ वटा क्यामेरा हराएको छ । यस्तै दोस्रो ब्लकमा राखिएका क्यामेरामध्ये २६ वटा क्यामरा हराएको र तेस्रो ब्लकमा राखिएका क्यामेरामध्ये ७ वटा हराइसकेको छ । त्यसमा २५ वटा क्यामरा हात्तीले फुटाएको पाइएको छ । दुईवटा बाघले लगेको बताइएको छ । ४० वटा क्यामरा मानिसले लगेका छन् ।
त्योबाहेक मान्छेले लगेको तीनवटा क्यामरा फिर्ता आएको छ । चितवनको कंकालीमा हराएको एउटा क्यामेरा प्रहरीमार्फत फिर्ता आएको छ । बुधबारमात्रै रौतहटमा एउटा क्यामरा फेला परेको थियो । बस्ती नजिक क्यामेरा राखिएकाले बालबालिकाले खेलौना भनेर पनि ल्याएको, कतिपय स्थानीयले नयाँ चीज मानेर क्यामेरा लगेको पाइएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी अशोक रामले बताए । केही क्यामेरा तस्करले पनि लगेको र केहि फिर्तासमेत आएका उनी बताउँछन् ।
दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ शुरु भएको दुर्लभ पाटे बाघको गणना (अनुगमन) अन्तर्गत चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा ब्लक छुट्याएर अनुगमन भइरहेको छ । यहाँ करिब ६ सय वटा क्यामेरा प्रयोग भएका छन् । हराएका स्थानमा तत्कालै नयाँ क्यामेरा राख्ने गरिएकाले गणनामा प्रभाव नपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका अनुसन्धान अधिकृत एवं बाघ अनुगमनको नक्साङ्कन हेर्दै आएका बाबुराम लामिछानेले प्रष्ट पारे ।
राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईका अनुसार अहिले चितवन–पर्सा कम्प्लेक्समा बाघको गणना अन्तिमतिर पुगेको छ । यसपटक सामुदायिक वन क्षेत्रमा समेत बाघ गणना भएकाले सर्वसाधारणको पहुँच हुने हुँदा क्यामेरा हराउने क्रम बढेको हो । अत्याधुनिक प्रविधिसहितको क्यामेरा ट्रयापिङ विधिबाट बाघको गणना भइरहेको छ । मंसिर १४ गतेबाट बाघ गणना थालिएको थियो । यसअघि सन् २०१३ मा गणना भएको थियो । सन् २०१३ को बाघ गणनामा नेपालमा १ सय ९८ बाघ रहेको तथ्यांक छ । रासस

प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार ०७:३०