सूचनाको शक्ति - The Power Of Information

        

चिट्ठा परेको भन्दै ठगी गर्ने तीन जना पक्राउ

बाँके । देशभर चिट्ठाको नाममा ठगी गर्ने क्रम बढी रहँदा बाँकेमा पनि सांगठनिकरुपमै ठगी गर्ने गिरोह सक्रिय भएकोे छ । बाँके प्रहरीले एक हप्तामा दुईवटा गिरोहलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ । उनीहरुले सामाजिक सञ्जाल तथा भ्वाइसकलबाट २५ लाखको चिठ्ठा परेको भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले पाकिस्तानी फोन नम्बरको प्रयोग गरी ठगी गर्ने गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले ठगी कार्यमा संलग्न दैलेखका कुमार सुनार, मिलनकुमार विक र करिष्मा सुनारलाई नगद १ लाख १८ हजार रुपैयाँसहित पक्राउ गरेको छ । उनीहरुले बर्दियाको बढैयाताल गाउँपालिका–१ का खिमबहादुर सुनारलाई २५ लाखको चिठ्ठा परयो भनी १ लाख ८५ हजार ७०० रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
यसअघि प्रहरीले यस्तै प्रकारको ठगी गर्ने भारतका अब्बु सैयफ खान, बाँके नेपालगन्जका अकिव इद्रिसी, अमिरबाबु कुसगर र मोहम्मद फाहाद हलुवाइलाई पनि पक्राउ गरेको थियो । उनीहरुले काठमाडौंका सुमन सुनार र कपिलवस्तुका गणेश घिमिरेसँग नगद ५ लाखभन्दा धेरै ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार ०७:२२