
कल्पना बोहरा । अछाम । अछाममा हालसम्म १२ जना किशोरी तथा महिलाको छाउगोठमै मृत्यु भएको छ । छाउपडी कुप्रथा धेरै मानिने प्रदेश नम्बर ७ को अछामामा छाउपडी कुप्रथाले ‘अपराध’को रुपमा चर्चा पाएको छ । महिनावारी छाउपडी प्रथा नभएर सामाजिक बन्देज भएकाले महिनावारीलाई छाउपडी प्रथाको रुपमा लिएका कारण अहिले समस्या निम्तिएको छ ।
बान्नीगढी गाँउपालिका वडा नम्बर ३ की गायत्री रेग्मी भन्छिन्, ‘छाउगोठ भत्काउँदैमा समस्याको समाधान हुँदैन । सिधै घरमा गएर बस्ने अवस्था पनि छैन । त्यसैले गोठ भत्काएपछिको विकल्प पनि खोजिनुपर्छ ।’ गोठ भत्काउनुभन्दा गोठलाई घर बनाउने अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा छ । अन्तरपार्टी महिला सञ्जाल साफेबगरकी नगर सचिव रहेकी उनी भन्छिन्, ‘परिवर्तन बिस्तारै हुन्छ ।’
छाउ भएका बेला घरमा बस्दा देउता रिसाउने, आग लाग्ने बाघ लाग्ने, अनिष्ट हुने जस्ता अन्धबिश्वाशले जरो गाडेका कारणले यो कुप्रथाको अन्त्य गर्न समय लाग्छ भन्ने सोंच विस्तारै परिवर्तन भएको छ ।’ पहिले सात दिनसम्म गोठमा बस्नुपरेको पीडा उनीसँग छ । उनी भन्छिन्, ‘अहिले ४ दिनसम्म गोठमा बस्नुपर्छ । परिवार ठुलो, साँघुरो घरको बनावटले गर्दा पनि छाउ भएका बेला घरभित्रै बस्ने अवस्था छैन । त्यसैले घरभन्दा बाहिरको बसाईसुरक्षित हुनुपर्छ ।’
अछामका धेरैजसो विद्यालय वरिपरी देवीदेवताका मन्दिरहरु भएकाले पनि डरले कतिपय किशोरीहरु र महिला शिक्षकसमेत विद्यालय नै नजाने गरेको पाइएको छ । गाउँमा बिभिन्न संघसंस्थाहरुले सुरक्षित तरिकाले घरमै बस्नुपर्छ भन्दै धमाधम छाउगोठ भत्काए पनि अझै पनि महिला तथा किशोरीहरुको ज्यान जाने क्रम रोकिएको छैन । छाउगोठमुक्त गाविस घोषणा भएका गाविसहरुमा समेत अहिले धमाधम छाउगोठ बन्न थालेका छन् ।
यद्यपी अछाममा साविकका ३१ गाविस छाउपडी गोठ मुक्त भइसकेका छन् । जिल्लामा महिला तथा बालबालिका कार्यालय, सेभ द चिल्ड्रेन, सम विकास नेपाल, सेवक नेपाल, वल्र्ड भिजन लगायतका दर्जन बढी सरकारी तथा गैरसरकारी संस्थाहरुले छाउपडी प्रथा अन्त्यका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । कुप्रथा अन्त्यका लागि काम गरे पनि प्रत्येक वर्ष जिल्लामा छाउगोठमा महिलाहरुको ज्यान जाने क्रम भने नरोकिएकाले यस्को प्रतिफल भने शुन्य जस्तै देखिएको छ ।
२ लाख ५७ हजार ४७७ जनसंख्या रहेको अछाममा नयाँ संरचना अनुसार १० वटा स्थानीय तहहरु रहेका छन् । अहिले पनि कतिपय स्थानीय तहहरुमा छाउप्रथा कायमै रहेको छ भने कतिपय स्थानीय तहहरुमा छाउप्रथा उन्मुलनका विभिन्न प्रयासहरु भएका भइरहेका छन् । पश्चिम नेपालको पहाडी जिल्ला अछाम, बझाङ्ग बाजुरा, दैलेख, कालिकोट लगायत जिल्लामा व्याप्त छाउप्रथा हटाउन सरकारी एव गैरसरकारी संघसंस्था अहोरात्र खटिए पनि समस्या उस्तै छ ।
।