सूचनाको शक्ति - The Power Of Information

        

रेडियो कार्यक्रम ‘गाउँठाउँको विकास र निकास’ सञ्चालन हुने

देवी भण्डारी । दाङ । गाउँठाउँको विकास र निकासका लागि सल्यानको कालीमाटी गाउँपालिकामा रेडियो बहस सञ्चालन हुने भएको छ । सवाल जवाफ समस्याको खोजी र समाधान, समाज रुपान्तरणमा भरपर्दो अभियान भन्ने मुल नाराका साथ रेडियो बहस सञ्चालन हुन लागेको हो ।
कालीमाटी गाउँपालिकाको सहयोगमा गाउँबेशी सूचना केन्द्र रेडियो कपुरकोटले बहस सञ्चालन गर्न लागेको गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत हरीबहादुर खत्रीले जानकारी दिए । रेडियो बहसमा आम नागरिकले समस्या राख्ने र सरोकारवालाले जवाफ दिने भएको हुँदा गाउँठाउँको विकासका लागि सकारात्मक विकासे बाटोको पहिचान सजिलै गर्न सकिने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए ।
माघ १२ गते वडा नं.१ लक्ष्मीपुरबाट सञ्चालन हुने रेडियो बहस कालीमाटीका ७ वटै वडामा सञ्चालन हुनेछ । जस अनुसार वडा नं.६ मा माघ १४ गते, वडा नं.७ मा माघ १५ गते, माघ १७ गते वडा नं.४ मा, माघ १८ गते वडा नं.५ मा, माघ २० गते वडा नं.२ र वडा नं.३ मा माघ २१ गते रेडियो बहस सञ्चालन हुने रेडियो कपुरकोटका कार्यकारी प्रमुख सन्तोष जिएमले जानकारी दिए ।
रेडियो बहस कार्यक्रममा आफ्नो गाउँठाउँको समस्याको प्रश्न जनप्रनिधि समक्ष सोझै राख्न सकिने र जवाफ सुन्न सकिने तथा स्थानीय कलाकारको प्रस्तुतिबाट मनोरञ्जनसमेत लिन सकिने भएको हुँदा रेडियो बहस कार्यक्रममा उपस्थितिका लागि आमनागरिकलाई गाउँपालिकाका सूचना अधिकारी मेघलाल भुसालले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७४, बुधबार ०९:०४