देवी भण्डारी । दाङ । लमही नगरपालिकाका जनप्रतिनिधिहरुले पाँच महिनापछि आफुहरुको पारिश्रमिक र सेवा सुविधा अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेका छन् । सूचनाको हकअन्तरगत सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नं. ५ का अध्यक्ष केपी घिमिरेलाई संक्षिप्त लिखित सूचना नगरपालिकाले उपलब्ध गराएको छ ।
सो सूचनामा लमही नगरपालकाका प्रमुख कुलबहादुर कसीले मासिक ३५ हजार, उपप्रमुख देवका बेलबासेले ३० हजार, वडा अध्यक्षहरुले मासिक २५ हजार र वडा सदस्यहरले मासिक ५ हजार रुपैयाँका दरले पारिश्रमिक बुझ्दै आएको उल्लेख गरिएको छ ।
पहिलो नगरसभाबाट निर्णय गरी गत मंसिर महिनासम्मको तलबभत्ता जनप्रतिनिधिहरुले लिएको उल्लेख छ । गत पुस २० गतेको बोर्ड बैठकको निर्णयबाट पुस महिनादेखि सेवा सुविधा स्थगित गरिएको बताएको छ । पहिलो नगरसभा गदौ २ दिनको होटेल खर्च १ लाख ९४ हजार २०१ रुपैयाँ र सहभागी भत्ता ५८ हजार गरी कुल २ लाख ४२ हजार २०१ रुपैया खर्च भएको उपलब्ध सूचनामा उल्लेख छ ।
त्यसैगरी जनप्रतिनिधिहरले कुल ५ महिनामा १७ लाख ७५ हजार रुपैया पारिश्रमिक लिएको उल्लेख गरिएको छ । संक्षिप्त सूचना उपलब्ध गराए पनि मागिएको सूचनाको प्रमाणित प्रतिलिपि नगरपालकाले उपलब्ध गराएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गहेन्द्रबहादुर डाँगीले प्रमाणित प्रतिलिपि किन चाहियो भनि दिन नमानेको पत्रकार घिमिरेले जानकारी दिएका छन् । घिमिरेले पुस २४ गते लिखित निवेदन दिई सूचना माग गरेका थिए ।
।